बाजुरा। नेपाल बार एसोसिएसन बाजुराले मंगलबार बहस पैरवी रोकेर विरोध जनाएका छन्। ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वकिल अमीर लामिछाने आइतबार साँझ साधारण तारेखमा रिहा भएपनि कानून व्यवसायीहरूको मंगलबार पनि आन्दोलन गरेका छन्।
जिल्ला प्रशासन कार्यालय ललितपुरले थुनछेक प्रयोजनका क्रममा साधारण तारेखमा रिहा गरे पनि मुद्दा फिर्ता नभएको बताएको छ। मुद्दा फिर्ता हुनुपर्ने भन्दै नेपाल बार एसोसिएसन बाजुराले मंगलबार बहस पैरवी रोकेर विरोध जनाएका छन्। नेपाल बार एसोसियसन बाजुराले बाजुरा अदालतमा केन्द्रीय सर्कुलर अनुसार विरोध जनाएका हुन्।
मंगलबार बाजुरा अदालतमा जिल्ला बारका अध्यक्ष पुरबहादुर रावत सहितको अधिवक्ताहरुले अदातलमा धर्ना दिएको जिल्ला बार एसोसियसनका सचिव हर्क खडायतले जानकारी दिए ।देशभरका अदालतमा फाँटका कर्मचारीले आदेश वा फैसलाको नक्कल उपलब्ध गराए बापत १ हजार रुपैयाँ घुस माग्ने गरेको व्यापक गुनासो आएकाले त्यसविरुद्ध अभियानमा जिल्ला बार एसोसियसन बाजुराले समर्थन जनाएको सचिव खडायतले बताए।
अदालतकी कर्मचारीले अधिवक्ता लामिछाने माथि गरेको दुव्र्यवहारप्रति जिल्ला बार एसोसियसनले केन्द्रको सर्कुलर अनुसार आन्दोलनमा समर्थन जनाउदै धर्ना दिएको अधिवक्ता समेत रहेका सचिव खडायतको भनाई रहेको छ। ललितपुर जिल्ला अदालतमा वारेस समेत भएका कानून व्यवसायीले आदेशको नक्कल माग्दा कर्मचारी तामाङले चिया खर्च मागेको र नदिँदा शुरूमै अपशब्द बोल्दै एक झापड हानेको अवस्थामा आफ्नो प्रतिरक्षामा लामिछानेले पनि झापड हानेको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे दाबी गर्छन् । बारले सोमवार जारी गरेको विज्ञप्तिमा ९ वटा मागमध्ये अन्तिम मागमा सबै तहका अदालतहरूमा रिक्त न्यायाधीश नियुक्ति हुनुपर्ने उल्लेख छ ।