बैतडी। डिलासैनीका वीरबहादुर ठगुन्ना २४ वर्ष पुगे । ०६३ मा चमेलिया जलविद्युत आयोजना सुरु हुँदा उनी ७ वर्षका थिए । चमेलिया आयोजनासँगै हुर्किएका उनलाई परिवारमा बाल्यकालमा खान, लाउन धौधौ परेको पनि सम्झना ताजै छ ।
०७४ मा चमेलियामा विद्युत् उत्पादन परीक्षण सुरु भयो । त्यसयता ठगुन्ना परिवारको जीवनशैलीमा ठूलो परिवर्तन आयो। त्यसअघि उनका बुबा ईश्वरी ठगुन्ना रोजगारीका लागि भारतको पिथौरागढ पुगेर ६ महिना भरियाको काम गर्थे । त्यसले जेनतेन वर्ष दिनको नुनतेल खर्च चल्थ्यो । चमेलिया सुरु भएसँगै उनले मजदुरी पाए। आफ्नो बारीमा उत्पादन भएको तरकारी, फलफूल, गेडागुडी बिक्री गर्न थाले।
कमाइ हुन थालेपछि छोरा वीरबहादुरलाई तराई पढ्न पठाए । अहिले गाउँमा उनको पक्की घर छ । तराईमा दुई रोपनी जग्गा जोडेका छन् । गोकुलेश्वर बजारमा भेटिएका ईश्वरीले भने, ‘यो खोलामा गाडी/मोटर पुग्लान्, गोकुलेश्वर यति ठूलो बजार बन्ला, सबै सुविधा गाउँमै पुग्ला भन्ने कल्पना गरेको थिइनँ ।’ चमेलियासँग जोडिएको शैल्यशिखरका धनबहादुर नेगी पनि चमेलिया जलविद्युत् आयोजना निर्माण सुरु भएपछि आफ्नो दिन फर्किएको बताउँछन् ।
‘जलविद्युत् परियोजनाबाट जग्गा मुआब्जा पाउने रातारात करोडपति भए,’ उनले भने, ‘मुआब्जा नपाउनेका लागि पनि चमेलिया बरदान सावित भएको छ । रायो, धनियाँदेखि जसले जे उत्पादन गर्न सक्यो, सबै बिक्री हुन थालेपछि हामीजस्ता गरिबका दिन फेरिए ।’ चमेलिया जलविद्युत् आयोजना निर्माण सुरु हुनुअघिका दिन भने उनी सम्झन चाहँदैनन् । बैतडी र दार्चुला जिल्लाको दुर्गममा रहेको यो क्षेत्रका बासिन्दा कठिन जीवन जिउन बाध्य थिए । एउटै आयोजनाले बैतडी र दार्चुलाका आधाभन्दा बढी बासिन्दाको जीवनशैली फेरिएको हो ।
‘जग्गाको क्षतिपूर्ति पाउनेहरू धेरैजसो तराई झरे,’ नेगीले भने, ‘हामीजस्ता दुई÷चार रोपनी जग्गा भएकाका लागि पनि चमेलिया निर्माण सुरु भएपछि रोजगारीको बाटो खुल्यो ।’ ६ महिना महाकालीपारि गएर भारी बोक्ने र ६ महिना घरको खेतीपाती गर्ने परम्परा सकिएको उनले सुनाए । बैतडीको डिलासैनी गाउँपालिका–३ सिमारको पारि दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचमा चौलानी (चमेलिया) नदीमा ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना निर्माण हुनुअघि बैतडीको डिलासैनी, दोगडाकेदार, अपी हिमाल, शैल्यशिखर र लटिनाथ क्षेत्रका विषयमा बाहिर थोरै मात्र चर्चा हुन्थ्यो ।
बैतडी–दार्चुला जोड्ने महाकाली राजमार्ग र चमेलिया जलविद्युत् आयोजना निर्माण सुरु भएपछि यस क्षेत्रका बासिन्दा खुला संसारसँग जोडिएका हुन् । ‘राजमार्गभन्दा पनि चमेलिया निर्माण सुरु भएपछि चहलपहल सुरु भएको हो,’ गोकुलेश्वरका व्यवसायी हरिकृष्ण जोशीले भने, ‘छोरा १४ वर्षको भयो कि रोजागारीका लागि कालीपारि जाने परम्पराजस्तै थियो । विद्युत् आयोजनाले जग्गाको क्षतिपूर्ति, स्थानीय उत्पादनको बिक्री, सर्वसाधारणले रोजगारी पाउन थालेपछि आर्थिक रूपमा समृद्धि आयो जसले यो क्षेत्रको जीवनशैली पूरै परिवर्तन भएको छ ।’
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा जग्गाको मूल्य अकासिनुमा पनि चमेलिया जलविद्युत् प्रमुख कारण हो । यहाँ आयोजना निर्माण सुरु भएका कारण दार्चुलाको अपिनाम्पासम्म सडक विस्तार भएको छ । नदीछेउमा दर्जन हाराहारी पसल रहेको गोकुलेश्वर अहिले बैतडी र दार्चुला सदरमुकाम क्षेत्रभन्दा गुल्जार छ । यहाँ कृषि क्याम्पस, बहुमुखी क्याम्पस, १५ शय्याको अस्पताल, निजी स्वास्थ्य क्लिनिक, निजी विद्यालय, करोडौं लगानीका होटल मात्र होइन, विद्युत् परियोजनामा आउने–जानेलाई लक्षित गरेर रिसोर्टसमेत खुल्न थालेका छन् ।
चमेलिया जलविद्युत् आयोजनाको सफलतापछि यो क्षेत्रमा निजी क्षेत्रबाट अपर चमेलिया, नौगाड, नौगाड–२ र मकरीगाड जलविद्युत् आयोजनाको निर्माण भइरहेका छन् । जसले गर्दा चमेलियाका कारण सुरु भएको जीवनशैली परिवर्तनको क्रम बढिरहेको स्थानीय शिक्षक चक्र नाथ सुनाउँछन् । ४० मेगावाटको अपर चमेलिया, १५/१५ मेगावाटका नौगाड–१ र नौगाड–२, १० मेगावाटको मकरीगाड जलविद्युत् आयोजनाले यो क्षेत्रको जीवनशैलीमा आमूल परिवर्तन ल्याउने काम भएको शिक्षक नाथले सुनाए । ‘पत्याउनै नसकिने गरी यो क्षेत्रको विकास भएको छ,’ शिक्षक नाथले भने । चमेलिया निर्माण सम्पन्न हुनु र स्थानीय तह गठन प्रक्रिया सँगसँगै भएपछि अन्य विकासका पूर्वाधारले पनि गति लिएको हो । मुख्य राजमार्गबाट चमेलिया जाने सडक छुट्टिने गोकुलेश्वर बजारदेखि विद्युत् पावर हाउस रहेको बलाँच १८ किलोमिटर दूरीमा छ । विद्युत् परियोजना सुरु भएपछि गोकुलेश्वर सहर/बजारमा परिणत भएको हो ।
युवा व्यवसायी भुवन भण्डारीले गोकुलेश्वरमा १३ वर्षअघि सानो दुईकोठे होटलबाट व्यवसाय सुरु गरेका थिए । ‘२०६३ मा चमेलिया सुरु भएपछि मैले सानो होटल सुरु गरेको हुँ,’ भण्डारीले भने, ‘गोकुलेश्वर जोड्ने मुख्य राजमार्गको स्तर सुधार भयो, गोकुलेश्वरदेखि बलाँचसम्म आयोजनाले १८ किमि लामो नयाँ सडक बनायो, कोरियन र चाइनिजहरूको आवतजावत बाक्लो भयो, सयौं गाडी मोटर र आयोजनामा प्रयोग हुने सामान आउन थाल्यो । यसले एक्कासि यो क्षेत्रमा आर्थिक गतिविधि निकै बढ्यो ।’ सर्वसाधारणले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाएपछि जीवनशैली एकाएक परिवर्तन भएको उनको अनुभव छ । अहिले गोकुलेश्वर बजारमा तीनवटा निजी बैंकका शाखा छन् । राम्रा होटल छन् । कृषि क्याम्पस खुलेको छ ।
निजी विद्यालय खुलेका छन् । सदरमुकामभन्दा बढी सुविधासम्पन्न अस्पताल बनेको छ । अर्का व्यवसायी सुरेश श्रेष्ठ पनि डेढ दशकमै यस क्षेत्रको जीवनशैली पूरै परिवर्तन भएको बताउँछन् । सत्र वर्षअघि चमेलिया जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाले १ अर्ब ३० करोड बढी मुआब्जा पाएका थिए । गाउँमै अन्यत्रभन्दा दोब्बर बढी ज्यालामा मजदुरी गर्न पाए । यसबाहेक आयोजना अवधिभरि दुई अर्बभन्दा बढीको स्थानीय साधनस्रोत प्रयोग भयो । सम्झौताभन्दा ६ वर्ष ढिला गरी झन्डै दोब्बर लगानी १६ अर्ब खर्चेर आयोजना निर्माण भयो । व्यवसायी भण्डारीले भने, ‘०७४ मा आयोजनाको उद्घाटन हुँदासम्म बैतडी, दार्चुलाको दुर्गम मानिने यो क्षेत्र आर्थिक रूपमा अगाडि बढिसकेको थियो ।’साभार कान्तीपुरबाट