कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटामा आयुर्वेद अस्पताल बन्ने भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित अमरपुरमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको हो। अमरपुरमा करिब ३ विघामा १ सय शैयाको अस्पताल निर्माण हुनेछ ।
बुधबार नगरपालिका नगर प्रमुख रणबहादुर महरा, वडा अध्यक्ष उत्तरदेव भट्ट, रमेश ऐर, आयुर्वेद विभागका डाक्टर प्रकाश ज्ञवाली, बसान्द विद्मित्र, प्रादेशिक आयुर्वेदक निर्देशनालय कैलालीका निमित्त निर्देशक सूर्य उपाध्यायलगायतले जग्गाको निरीक्षण गरेका थिए। अस्पतालको डीपिआरलगायतको काम गर्न आयुर्वेद विभागले ३ करोड बजेट विनियोजन गरेको निमित्त निर्देशक उपाध्यायले बताए।
‘यो सुदूरपश्चिमकै पहिलो १ सय शैयाको आयुर्वेदिक अस्पताल हुनेछ,’ उनले भने, ‘अहिले धनगढीमा ५० शैयाको आयुर्वेदिक अस्पताल छ, त्यो अस्पताललाई सुदूरपश्चिम सरकार अन्तर्गत राखिएको छ।’ दुई वर्ष अगाडी सरकारले ७ वटै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने निणर्य गरेको थियो। सुदूरपश्चिममा शुक्लाफाँटा आयुर्वेदिक अस्पताल निर्माणका लागि छनौट भएको थियो। जग्गा प्राप्त नहुँदा अस्पताल निर्माणमा ढिलाइँ भइरहेको थियो।
शुक्लाफाँटाको नेतृत्वमा महरा आएपछि अस्पताल निर्माणका लागि सम्भावित जग्गाको पहिचान गरि अमरपुरमा बनाउने निणर्य गरेका थिए। जिल्ला प्रशासनले जग्गा अधिग्रहणको अनुमति नदिदा अस्पताल निर्माणको प्रक्रिया रोकिएको थियो। ‘प्रमुख जिल्ला अधिकारीले जग्गा अधिग्रहणको अनुमति नदिएमा प्रदेशको मन्त्रिमण्डलबाट निर्णय गराएर आर्युवेद विभागमा पठाउँछौं,’ प्रादेशिक आयुर्वेदक निर्देशनालयका निमित्त निर्देशक उपाध्यायले भने,‘अब अस्पताल निर्माण प्रक्रियालाई तिब्र रुपमा अगाडी बढाउँछौं।’ आयुर्वेदिक अस्पताल निर्माण भएमा ३० डाक्टर र अन्य कर्मचारी गरि करिब १ सय जनाले सेवा दिनेछन्। आयुर्वेदिक अस्पताललाई प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने तयारी समेत विभागले गरिरहेको उनले बताए।
उनका अनुसार अस्पतालमा नसर्ने रोगहरुको आयुर्वेदिक पद्दतीबाट उपचार गरिने छ । ‘त्यहाँ जडीबुटीको उत्पादन, अनुसन्धानलगायतका क्रियाकलाप पनि हुनेछन्,’ उनले भने, ‘आयुर्वेदिक डाक्टरहरुको उत्पादन समेत गर्ने हाम्रो योजना छ।’ पछिल्लो समय सरकारले आयुर्वेद शिक्षालाई प्राथमिकता दिएको छ। सुदूरपश्चिममा जडीबुढीको प्रयाप्त सम्भावना छ। नगरपालिकाले आयुर्वेद अस्पताल निर्माणलाई प्राथमिकता दिएको नगर प्रमुख महराले बताए‘हामी निर्वाचित भएपछि आयुर्वेद अस्पताल निर्माणका लागि प्रक्रिया अगाडी बढाएका थियौं,’ उनले भने, ‘जिल्ला प्रशासनले जग्गा अधिग्रहणमा सहयोग नहुँदा ढिलाइँ भएको थियो।’ नगरपालिकाको प्राथमिकतामा शिक्षा र स्वास्थ्य रहेको उनी बताउँछन्। ‘हामीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणदेखि जनशक्ति थप गर्ने कार्य गरेका छौं,’ उनले भने, ‘पिपलाडी स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा अगाडी बढाएका छौं, त्यहाँ नगरले एमबीबीएस डाक्टर राखेर सेवा दिइरहेको छ।’