धनगढी। कैलालीको एक पालिकामा ८ जनामा नयाँ कुष्ठरोग देखीएको छ। दशक अगाडि नै निवारण भइसकेको कुष्ठरोगको आठ जना नयाँ बिरामी फेला परेपछि कैलालीको कैलारी गाउँपालिकामा कुष्ठरोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिएको छ।
कैलारी गाउँपालिकामा चालु आर्थिक वर्षमा नयाँ कुष्ठरोगका बिरामी थपिएका हुन्।गाउँपालिकाको समन्वयमा नेदरल्याण्ड लेप्रोसी रिलिफ र नेपाल समाज कल्याण सङ्घ कञ्चनपुरले गाउँपालिकामा कुष्ठरोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिरहेका छन्।
सो गाउँपालिकाको वडा नम्बर १ मा ६, ५ र ६ मा एक/एक जना नयाँ बिरामी फेला परेका छन्। औषधि खुवाइने अभियानको सुरुवात रोगी फेला परेका वडाबाट गरिएको छ। तर, नौ वटै वडामा औषधि खुवाउने अभियान सञ्चालन हुने बताइएको छ । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले गाउँपालिकामा कुष्ठरोग पुनः देखिनु खतराको सङ्केत रहेको उल्लेख गर्दै औषधि खुवाउने अभियानलाई सफल पार्न आग्रह गरेका छन् । कुष्ठरोग सरुवा रोग रहेकाले यसबाट जोगिन सचेत हुनुपर्ने पनि उनले जोड दिए।
गाउँपालिकामा २०५४ देखि हालसम्म ३६९ जना कुष्ठरोगी रहेका छन्। अहिले फेला परेको एक जना बिरामी १४ वर्षभन्दा मुनिको रहेको जनाइएको छ। सानो बच्चामा कुष्ठरोग देखिनु भनेको रोग सरिरहेको बुझ्नु पर्ने नेदरल्याण्ड लेप्रोसी रिलिफका प्रकाश मल्लले बताए। उहाँले यो खतराको सङ्केत रहेको बताए। यहाँ २०६८ सालमा नै कुष्ठरोग निवारण भएको थियो। तर, फेरि नयाँ रोगी भेटिएपछि रोग सर्ने खतरा बढेको छ। निवारण भइसकेको रोग फेरि देखा परेकाले सबैले कुष्ठरोगविरुद्धको औषधि खानु पर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले बताए। गाउँपालिकाको सबै वडावासीलाई यो रोगविरुद्धको औषधि खुवाइने र आवश्यक सहयोग गर्न गाउँका भलमन्साहरु, महिला स्वास्थ्य स्वयम् सेविका खटिएका छन्।