धनगढी। धनगढीमा पाँचौं ‘मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्विचाल प्रतियोगिता’ आयोजना हुने भएको छ। सुदूरपश्चिम प्रदेश बुद्विचाल संघको आयोजनामा असार ९ देखि १३ गतेसम्म प्रतियोगिता हुने आयोजकले बिहीबार धनगढीमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो।
यो लेबलको प्रतियोगिता सुदूरपश्चिममा पहिलोपटक गर्न लागिएको सुदूरपश्चिम प्रदेश बुद्विचाल संघका अध्यक्ष भीमदत्त पाण्डेयले बताए। ‘प्रतियागितामा खेलकुद परिषद्को पनि सहयोग रहेको छ,’ उनले भने, ‘यस प्रतियोगितामा नेपालभरबाट करिब ८० जनाको सहभागिता रहने अपेक्षा छ।’
सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने, चेस खेलमार्फत् राष्ट्रियस्तरमा यस प्रदेशको पहिचान बनाउने, यस प्रदेशका खेलाडीलाई व्यवसायिक रूपमा अगाडि बढाउन तथा प्रदेशमा रहेका चेस खेलाडी, शिक्षक, अभिभावक, विद्यार्थी र खेलप्रेमीहरूलाई चेस खेलप्रति आकर्षण गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए। अध्यक्ष पाण्डेयका अनुसार खुल्लातर्फ प्रथम हुनेले ४० हजार पुरस्कार पाउने छन्। दोस्रोले २५, तेस्रोले १५ हजार, चौथोलाई १० हजार, पाँचौँलाई ८ हजार, छैंटौ र सातौँलाई ६ हजार पुरस्कार दिइने अध्यक्ष पाण्डेयले जानकारी दिए।
आयोजकका अनुसार आठौँदेखि दशौँसम्मका सबै खेलाडीलाई ५ हजारका दरले पुरस्कार दिइने छ। महिलातर्फसमेत प्रथम हुनेले २० हजार पुरस्कार पाउनेछन्। महिलातर्फ दास्रोले १५ हजार, तेस्रोले १० हजार पुरस्कार प्राप्त गर्नेछन्। सुदूरपश्चिम ‘क’ तर्फ प्रथम हुनेलाई पाँच हजार पुरस्कार दिइने आयोजनकले जनाएको छ। द्वितियलाई चार तथा तृतीयलाई तीन हजार पुरस्कार दिनेछ।
आयोजकका अनुसार सुदूरपश्चिमका विद्यार्थी तर्फ प्रथम हुनेले तीन हजार पुरस्कार पाउनेछ। ईएलो १८००, ईएलओ १६०० र अनरेटेडमा प्रथम हुनेले पाँच हजारका दरले पुरस्कार पाउनेछन्। पुरस्कारमा मात्र २ लाख १० हजार खर्च हुने आयोजकले जनाएको छ।प्रतियोगिताले विद्यालयमार्फत तालिम प्राप्त गरी गुणस्तरीय खेलाडी उत्पादन हुने, अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू उत्पादन हुने, राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा पर्यटन क्षेत्रको विशेष प्रचारप्रसार हुने, खेलका माध्यमबाट राष्ट्रिय स्तरको सामाजिक, धार्मिक सद्भावको विकास, स्थानीय तथा राष्ट्रियस्तरका एफएम रेडियो, टिभी, पत्रिकाहरूमा यस प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार हुने विश्वास आयोजकले लिएको छ।