धनगढी। सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छ्न। मंगलबार गाडी दुर्घटनामा प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो।
अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको कभर्ड हलमा राखिएको स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा मुख्यमन्त्री शाहले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन्। मुख्यमन्त्री शाहसंगै प्रदेशका मन्त्री,यस्तै प्रदेश प्रमुख, सभामुख, उपसभामुख, पुर्वसभामुख लगायत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायत सयौंको संख्यामा उपस्थित स्थानीय तथा आफन्तहरुले श्रद्धाञ्जली अर्पण गरेका छन।
श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री शाहले मन्त्री सिंहको मृत्युले प्रदेशले एक कुशल ब्यक्ति र सरकारले एक असल मन्त्री गुमाउनु परेको भन्दै दुख व्यक्त गरेका छन्। आज बिहान धनगढी स्थित कभर्डहलमा सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइसकेपछि अन्तिम संस्कारको लागि हेलिकप्टर मार्फत बझाङ लागिएको छ।
मंगलबार मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुरा बाट चैनपुरजाने क्रममा केदारस्युँ गाउँपालिकाको १ धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खस्दा गाडीमा सवार मन्त्री सिंह, श्रीमती अमृता सिंह, भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो। भने उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचार भैरहेको छ।