धनगढी। बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।
हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएका सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। मंगलबार दिउँसो २ बजे दुर्घटनामा परेका मन्त्री सहित २ जनालाई नेपालगञ्ज मेडिकल कलेजमा नेपाली सेनाको हेलीकप्टर मार्फत पुयाइएको थियो । उपचारका क्रममा मृत भएको मेडिकल कलेजका निर्देशक प्रा.डा ढुण्डी राज पाडैलले प्रेस विज्ञप्ती मार्फत बताएका छन्।
४ बजेर ५८ मिनेटमा मेडिकल कलेजमा मन्त्री सहित २ जनालाई पुर्याइएपनी गम्भीर अवस्थामा रहेको मेडिकल कलेजले प्रेस विज्ञप्ती मार्फत जनाएको छ। मेडिकल कलेजमा पुर्याइएका मन्त्रीको गम्भीर अवस्थामा नाभीको चाल, मुटुको धड्कनले काम गर्न छोडेको र अस्पतालको टिमले श्रोत साधनले भ्याएसम्म काम गरेपनी ५ बजेर ३३ मिनेटमा मृत घोषणा गरेको मेडिकल कलेजका निर्देशक प्रा.डा ढुण्डी राज पाडैलले प्रेस विज्ञप्ती मार्फत बताएका छन्। उनका अनुसार अन्य ३५ बर्षिय धर्मराज जोशी र ३५ कै दिपेन्द्र भण्डारीको मेडिकल कलेजको आकस्मीक कक्षमा उपचार भैरहेको छ।
सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट बझाङ्गको चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।दुर्घटनामा परि मन्त्री सिंह सहित ५ जना घाइते भएका थिए। जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भैसकेको छ। दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको थियो। दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीले बताए। मृतक मन्त्रीकाका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको थियो।