डोटी। डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रका साथ चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।
डोटीका सबै पालिका घोषणा गरेपश्चात सोमबार जिल्लालाई घोषणा गरिएको हो। डोटीलाई १९ जेठ २०७५ मा पहिलोपटक पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो। सोही वर्षदेखि प्रत्येक वर्ष निरन्तर घोषणा गरिँदै आएको छ । जनस्वास्थ्यका विभिन्न कार्यक्रम मध्य खोप कार्यक्रम सबैभन्दा प्रभावकारी र सफल कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा.जगदीश जोशीले बताए ।
पहिले खोप नपाएर बालबालिकाले अकालमै ज्यान गुमाउनुपर्ने समस्या थियो तर अहिले सबैको सहयोग र सहकार्यले बालबालिका जन्मेदेखि खोप पाइरहने र बालबालिको मृत्युदर धेरै घटेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीका उपसंयोजक एवं जिल्ला समन्वय समितिका उपसंयोजक स्मृति चुनारा विकले बताए। दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिंह खड्काले सबै स्वास्थ्यकर्मीको सहयोग र सक्रियताले जिल्ला घोषणा सम्भव भएको बताए।
उनले देशका कर्णधार बालबालिकाले सही समयमा सम्बन्धित खोप पाउँदा पछिल्लो समय बाल मृत्युदर घटेको बताए। आगामी वर्षहरूमा तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्यसञ्चालन गर्नुपर्ने खड्काले बताए। डोटीमा हाल २ सय ३६ खोप केन्द्रबाट प्रत्येक महिनाको ८ गतेदेखि १२ गतेसम्म र जिल्ला अस्पतालमा १५ गते नियमित खोप सेवा सञ्चालन हुँदै आइरहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए।