बझाङ : बझाङको जयपृथ्वी नगरपालिका भित्रका स्वास्थ्यकर्मीले विगत पाँच महिनादेखि तलव पाएका छैनन् । नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले पाँच महिनादेखि तलब नपाएका हुन् । स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी र सहरी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएका हुन् ।
सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका संयोजक नयन बहादुर सिंहले जानकारी दिए। गत माघ महिनादेखि नेपाल सरकारका करिब ४० जना कर्मचारी एवं स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उनले बताए।
नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलब पाइरहेका छन् ।