धनगढी। सुदूरपश्चिम प्रदेशका तीनसहित देशका ९ जिल्लामा आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार आजदेखि सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बाजुरा जिल्लामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइदैछ ।
यस्तै सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेतमा पनी दादुरा–रुबेलाविरुद्धको खोप लगार्इरहेको बताइएको छ । देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइन थालिएको विभागले जनाएको छ । यसअघि नेपालमा १३ जिल्लामा दादुरा(रुबेला रोगको संक्रमण देखिएको थियो । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गरिएको हो।
अहिले कैलालीसहित देशका नौ जिल्लामा १३ वटा रोग विरुद्धको खोप अभियान सञ्चालन हुँनेछ । खोप लगाउनका लागि सरोकारवालसँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखी कार्यक्रम गर्न थालिएको छ।अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक रामु शर्माले नेपालमा २०३६ सालदेखि दादुरा विरुद्धको खोप लगाउन सुरु भए पनि अझै सङ्क्रमित देखिन थालेकाले खोप अभियान सञ्चालन गर्न लागिएको बताए।
उनले दादुरा र रुबेला भयानक सरुवा रोग भएकाले यसलाई रोकथाम गर्नका लागि अहिले सरकारले सङ्क्रमण देखिएका जिल्लामा अभियान सुरु गरिरहेको बताए ।नेपालमा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र २० प्रतिशत बालबालिकाले दोस्रो मात्राको खोप नलिएको सर्वेक्षणले देखाएको विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक शर्माले बताए। उनले नियमित खोप ९५ प्रतिशतभन्दा कमले लगाउने, सबै तहमा एकरूपता नहुने, क्रियाकलाप सञ्चालन प्रभावकारी नहुने, जिम्मेवारी, अपनत्व र समन्वयमा कमी हुनेजस्ता प्रमुख समस्या रहेको गुनासो गरे।
कैलाली जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा दादुरा र रुबेलाको सङ्क्रमण देखिएकामा ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो। उक्त जिल्लामा दुई लाख छ हजार बालबालिकालाई खोप लगाउने लक्ष्यअनुसार सबै पालिकामा खोप पठाउने काम सुरु भएको छ।यसअघि पनि कैलालीमा दादुरा सङ्क्रमण देखिएपछि छ महिनादेखि १५ वर्षमुनिका १६ हजार बालबालिकालाई गएको फागुनमा खोप लगाइएको थियो। फेरि जिल्लाभरिका सबै बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए।
उनले प्रदेशमा दादुरा रुबेला पुष्टि भएकामध्ये अधिकांश एक वर्षमाथि उमेर समूहका रहेको बताए । कैलालीमा नौ महिनाका सात, २३ महिनाका छ र २३ महिनामाथिका ३४ जना छन्।सुदूरपश्चिममा एक सय २३ जना शङ्कास्पद बिरामीमा परीक्षण गर्दा प्रदेशमा ९३ जना दादुरा तथा एकजना रुबेलाका बिरामी फेला परेकामा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुबेलाका बिरामी थिए।टीकापुर नगरपालिकाले भने जेठ २६ गतेदेखि खोप अभियान सुरु गर्दैछ। खोप अभियानमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने भएको छ। खोप अभियान सञ्चालनका लागि नगरपालिकाले हरेक वडा तहमा जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ। टीकापुरमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाउने लक्ष्य छ। उक्त पालिकाले टीकापुरका ७५ स्थानमा खोप लगाउने तयारी गरेर स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरेको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावलले बताए। टीकापुरका ३२ वटा खोप केन्द्रबाट नियमित खोप अभियान सञ्चालन भइरहेका छन्।