डोटी। भारतीय धार्मिक गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवर्द्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छा राखेका छन् । खप्तडमा आज (मंगलबार) देखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै धार्मिक गुरु रामदेवले यस्तो इच्छा व्यक्त गरेका हुन्।
सम्मेलनलाई सम्बोधन गर्दै योग गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवद्र्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको बताए। ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु,’ उनले भने, ‘यहाँका हरेक काममा सहयोग गर्न चाहन्छु ।’ यसैबीच रामदेवले प्रधानमन्त्री दाहालको निकै प्रशंशा गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्तिका नायक भएको समेत बताए।
प्रधानमन्त्री दाहाल वास्तविक कम्युनिष्ट भएको समेत रामदेवले दाबी गरेका थिए।यसैगरि सम्मेलनमा सहभागी भएका आचार्य बालकृष्णले जीवनमा एक पटक खप्तड हेर्न जानुपर्ने बताए । उनले खप्तड क्षेत्रको थप प्रवद्र्धन गर्न आवश्यक रहेकोसमेत बताए।खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । कार्यक्रममा योग गुरु रामदेव पनि सहभागी थिए। उनी पश्चिमी नाका गड्डाचौकीबाट खप्तडका लागि नेपाल प्रवेश गरेका थिए। धनगढीबाट हेलिकप्टरमा खप्तड पुगेका योग गुरु रामदेवलाई ढाका टोली लगाइएको थियो। सम्मेलनमा भाग लिन रामदेवसँगै आचार्य बालकृष्ण पनि आएका छन्। यो सम्मेलन तीन दिनसम्म चल्नेछ।