धनगढी : सुदूरपश्चिम प्रदेशका निमित्त स्वास्थ्य निर्देशक डा.जगदिश जोशीले अँझै निजि क्लिनिकमा बिरामी जाँच्ने गरेको पाइएको छ । जोशीले नीजि अस्पतालमा लगानी तथा क्लिनिकमा बस्ने तथा व्यक्तिगत स्वार्थसंग बाँझिने गरि काम गर्ने गरेको देखिएको छ । स्वास्थ्य महाशाखाले बनाएको ऐन तथा कार्यक्रम कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीमा रहेका निर्देशक जोशी आफै नीजि क्लिनिकमा विरामी जाँच गर्दै बस्छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित दगीं शरण मेडिकल हलमा विहान र साँझको समयमा उनी विरामी जाँच गर्दै बस्छन् । अन्य समयमा निर्देशनालयले धनगढीमा आयोजना गरेको कार्यक्रममा व्यवस्त हुन्छन निर्देशक डाक्टर जगदिश जोशी ।
निर्देशक जोशीको धनगढीमै क्लिनिक रहेकाले उनी महिनामा एक दुई पटक मात्र निर्देशनालय पुग्ने गरेको कर्मचारीहरु बताउँछन् । धनगढीमा पनि सम्पर्क कार्यालय रहेकाले आफुले निर्देशनालयको काममा कुनै लापरबाही नगरेको उनको दाबी रहेको छ । धनगढीमा शाखा भएपछि प्रदेश सरकारलाई दोहोरो खर्च भएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले पनि प्रश्न खडा गरेको छ ।
‘डोटी जिल्लामा रहेका स्वास्थ्य, शिक्षा, कृषि, पशुपन्छी र यातायात पूर्वाधार समेत पाँच निर्देशनालयहरुले कैलाली जिल्लामा सम्पर्क कार्यालय खोजी चार कार्यालयको लागि दुई लाख पाँच सयका दरले १२ महिनाको २४ लाख छ हजार भाडा भुक्तानी गरेको छ’ प्रतिवेदनमा भनिएको छ –‘डोटी जिल्लामा कार्यालय नखोल्ने तथा प्रदेश सरकारको सहमति वेगर सम्पर्क कार्यालय खोली प्रदेश सरकारलाई थप व्ययभार पार्ने कार्य नियन्त्रण गर्न सम्बन्धित कार्यालय प्रमुखलाई जिम्मेवार बनाउनुपर्दछ’ प्रतिवेदनमा भनिएको छ ।
डा.जोशी मात्रै होइन मन्त्रालय तथा अस्पतालको महत्वपुर्ण जिम्मेवारीमा रहेका ब्यक्तीहरुपनि जनस्वास्थ्य महासाखाको ऐन बिपरित निजि क्लिनकमा बिरामी हेर्दै आएका छन् । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड हेमराज पाण्डे धनगढीकै युग मेडिकलमा बिरामी जाँच्ने गरेका छन् । मेसु पाण्डे विहान र साँझ सो क्लिनिकमा बसी विरामी चेकजाँच गर्ने गर्छन् । दिनभरी सेती प्रादेशिक अस्पतालको जिम्मेवारी सम्हाल्छन् । मेसुनै नीजि क्लिनिकमा बस्ने भएपछि त्यहाँ कार्यरत अन्य विशेषज्ञ डाक्टरहरु पनि समयअनुकुल नीजि अस्पताल तथा क्लिनिकमा समय दिन्छन् ।
यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख छन् डाक्टर निरज अर्याल आफ्नो नीजि अस्पताल नवजीवनमा बिरामी जाच्ने गरेका छन् । उनि दिउँसो आपुर्ती केन्द्रमा काम गरेर बिहान साँझ आफ्नो अस्पताल नवजिवनमा काम गर्ने गरेका छन् । सरकारले अस्पतालको निर्देशकका लागि मात्रै हैन ‘एक चिकित्सक एक स्वास्थ्यकर्मी’ कार्यक्रम लागू भएका अस्पतालका चिकित्सकको सुविधा समेत बढायो । निर्देशकको हकमा भत्ता, आवास र सवारी साधनको सुविधा थपेको थियो । एक चिकित्सक–स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ नै बनाएर सुविधा बढाइएको थियो । कार्यक्रम लागू भएका अस्पतालमा कार्यरत चिकित्सकले कार्यसम्पादनका आधारमा शतप्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराइने उल्लेख गरिएको छ । विस्तारित स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सकलाई संस्थाले ८० प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउने, निःशुल्क स्वास्थ्य बिमा, क्षमता अभिवृद्धि तालिम लगायतमा वार्षिक एक लाखदेखि १० लाख रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउने राखियो ।
कार्यविधीमा मिनिमम सर्भिस स्ट्यान्डर्ड (एमएसएस) को अवधारणा राख्दै स्कोर ८० प्रतिशत वा सोभन्दा माथि भएमा वा पछिल्लो स्कोरमा २५ प्रतिशत बढी आएमा सत्प्रतिशत भत्ता पाउने, एमएसएस स्कोर ६० देखि ८० प्रतिशत भएमा वा पछिल्लो स्कोरमा २० प्रतिशत बढी आएमा ७५ प्रतिशत भत्ता, एमएसएस स्कोर ४० देखि ६० प्रतिशत भएमा वा पछिल्लो स्कोरमा १५ प्रतिशत बढी आएमा ५० प्रतिशत भत्ता र एमएसएस स्कोर ४० प्रतिशतभन्दा कम आएमा २५ प्रतिशत भत्ता पाउने उल्लेख छ ।
सरकारले सुविधा बढाउँदा पनि प्रदेशका स्वास्थ्य निकायका जिम्मेवारी सम्हालेका व्यक्तिहरुनै नीजि अस्पताल तथा क्लिनिकमा बस्ने गर्दा स्वास्थ्य क्षेत्रको सुधारबारे गरिएको अपेक्षानै साकार नहुने स्वास्थ्य विज्ञहरु बताउँछन् । ‘नियम कार्यान्वयन गराउने निकायका प्रमुखहरुनै अस्पताल तथा क्लिनिकमा बस्ने हुँदा सरकारले बनाएका योजनाहरु कार्यान्वयनमा चुनौति देखिन्छ ।