धनगढी। कैलालीको चुरे गाउँपालिका–६ मा फाया नेपाल र सौभाग्य अस्पताल प्रालीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा नम्बर ६ को बयालामा रहेको मेलकट्टेश्वर माध्यमिक विद्यालयमा शनिबार आइपास नेपालको सहयोगमा चुरे गाउँपालिकाको समन्वय तथा फाया नेपाल र सौभाग्य अस्पतालले संयुक्त रुपमा शिविर सञ्चालन गरेको हो।
ग्रामीण बस्तीका महिला तथा बालबालिकालाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त वडाका २ सय ५० जनाले लाभ लिएका छन्। विशेषगरी घरायसी काम र आर्थिक अभावका कारण स्वास्थ्यमा समस्या हुँदाहुँदै उपचार गराउन नपाएका महिलाहरुले घरमै लाभ लिएका हुन् ।शिविरमा सहभागी भएर स्वास्थ्य परीक्षण गराउदै औषधी समेत निःशुल्क पाएको बताउने स्थानीय ७० वर्षीया कृष्णा कार्कीले आफ्नै गाउँघरमा स्वास्थ्य अवस्था जाँच गर्ने अवसर मिलेको बताइन् । उनले ढाँडको समस्याले उठन र बस्न नसक्ने समस्या भएकाले शिविर सञ्चालन हुने थाहा पाएपछि आएको उनले बताइन्।
छोराले चार घण्टाको पैदल दुरीमा मलाई पिठ्युमा बोकेर उपचार गर्न ल्याएको बताइन्। डाक्टरले चेकजाँच गरेपछि औषधी दिएको बताउँदै धनगढी र इन्डिया(भारत) का ठूला अस्पतालमा उपचार गराउन पैँसा नहुने समस्या थियो । घरको कामले छोराबुहारीको फुर्सद पनि नहुने भन्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा खुसी ब्यक्त गरिन्। बयालकी ६० वर्षीया लालमती थापाले घुडा र आँखा दुःख्ने समस्या भएको बताउदै टाढाको अस्पताल जान पैँसा नभएको कारण निःशुल्क स्वास्थ्यमा सहभागी भएर चेकजाँच गराएको बताइन्। ‘धेरै खुसी लाग्यो आज घर आँगनमै उपचार गर्न पायौँ ।
डाक्टरले दबाइ(औषधी) औषधी दिनुभएको छ,’ थापाले भनिन्, ‘निको नभएपछि फेरी उपचार गराउनुहोला भन्नुभएको छ ।’ शिविरमा स्वास्थ्य चेकजाँच गर्न पुगेकी ४२ वर्षीया सार्कीले लामो समयदेखि तल्लो पेट दुःख्ने समस्या भएपनि पैँसा अभावमा उपचार गर्न नसकेको तर शनिबारको शिविरमा उपचार गर्ने मौका पाएको बताइन् । उनले डाक्टरले पाठेघरको समस्या भएको हुनसक्ने बताउदै हप्ता दिनका लागि निःशुल्क औषधी दिएको र निको नभए थप चेकजाँच गर्न सल्लाह दिएको बताइन् । गाउँघरमै सेवा लिन पाउँदा खुसी लागेको उनको भनाई छ।२८ वर्षीया यमुना आउजीले डाक्टरले पाठेघरको समस्या भएकाले थप उपचारका लागि धनगढी आउन सल्लाह दिएको बताइन् । उनले लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएको तर उपचार गर्न अस्पातल जान नसकेको सुनाइन्। गाउँघरमै शिविर सञ्चालन भएका बेला चेकजाँच गरेर लाभ प्राप्त गर्दा खुसी लागेको बताइन् ।
गाउँका अधिकांश पुरुषहरु रोजगारीमा भारत र तेस्रोमुलुक रहेकोले महिला, बालबालिका र बृद्धबृद्धा मात्र उपचारका लागि स्वास्थ्य शिविरमा पुगेका थिए । स्वास्थ्य शिविरमा बिरामीको चेकजाँच गरेका डाक्टर विष्णुप्रसाद जैशीले स्त्री रोग, दम, पेट, टाउको, हाडजोर्नी सम्बन्धी समस्या भएका धेरै विरामी आएको बताए ।स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर संगिता बस्नेतले शिविरमा चेकजाँच गराउन आएका अधिकांश महिलाहरुमा तल्लो पेट, पाठेघर, पिसावको सङ्क्रमण जस्ता धेरै समस्या देखिएको बताइन्।बालरोग विशेषज्ञ डाक्टर नेहा रेग्मीले बालबालिकाहरुमा हार्डजोर्नी सम्बन्धी समस्या र विभिन्न खालका संक्रमण देखिएको बताइन्।
उनकाअनुसार गम्भीर प्रकृतिका लक्षण देखिएका बालबालिकालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने समान्य समस्या भएकालाई निःशुल्क औषधी दिइएको छ ।सो शिविरमा हाडजोर्नी विशेषज्ञ डाक्टर मनोज भट्ट र नाक,कान, घाँटी विशेषज्ञ राघव सेढाइले बिमारीको चेकजाँक गरेका थिए। फाया नेपालका कार्यक्रम निर्देशक शेरबहादुर बस्नेतले महिला तथा बालबालिकालाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए। उनले कैलाली सुगम जिल्ला भएपनि चुरे निकै दुर्गम गाउँपालिकाका रुपमा रहेको र यहाँका ग्रामीण बस्तीका मानिस आर्थिक अभावका कारण रोग पालेर बस्न बाध्य भएकाले उनीहरुको रोग पहिचान गर्न सघाउ पुगोस भनेर शिविर सञ्चालन गरिएको बताए। ‘गाउँघरमा जोखिमपूर्ण काम गर्दा महिलाहरुमा आङ खस्ने, बालबालिकामा कुपोषण जस्ता समस्या हुने भएकाले शिविर चुुरेमा सञ्चालन गरेका हौँ,’ बस्नेतले भने, ‘धेरै जनाले सहभागी भएर लाभ प्राप्त गरेका छन्।