काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो ।उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
यो प्रकरणमामुद्दा दायर गरिएका केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंकबहादुर गुरुङ, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, बालकृष्ण खाण, आङटावा शेर्पा, शम्शेर मिया, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, केशव दुलाल, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाँई, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापा छन् । उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।