बाजुरा। बाजुरामा भिरबाट लडेर १० वर्षीया बालिकाको मृत्यु भएको छ। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-८ पुजारी टोलकी १० वर्षीय ललिता रावलको भिरबाट लडेर मृत्यु भएको हो । मङ्गलवार सदरमुकाम मार्तडी नजिकैको झाल्या लेकबाट घरका लागि हिँडेकी ललिता भिर बाटो भन्ने ठाउँ बाट लडेर घटना स्थलमै मृत भेटिएकी उनका शिक्षक बलवान् अयडिले बताए।
बालमन्दिर आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा ललिता आमा कमला रावलसँग गाई वस्तु हेर्न लेक तिर गएकी थिइन्। बुवा हिक्मत रावल भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका शिक्षक अयडिले बताए। हिंउदको मौसममा घरमै बस्ने र वर्षाको मौसममा कामको शिलशिलामा लेकतिर जानु पर्ने बाजुराका बालबालिकाको बाध्यात्मक परिस्थिति छ। भौगोलिक विकटता सँगै सहज गोरेटो बाटो नहुनुका कारण बाजुरामा बर्सेनि दर्जनौँ नागरिकहरूले भिर बाट लडेर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्था रहेको छ।