बैतडी। बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। बैतडीको सिगास गाउँपालिका अध्यक्ष धामीविरुद्ध जिल्ला अदालत बैतडीमा कुटपिट र गालीगबेइज्जतको मुद्धा दर्ता भएको हो ।
सिगास–४ को कान्धार–देउलेक सडक निर्माण समितिका अध्यक्ष बिरसिंह धामीले पालिका अध्यक्ष धामीबिरुद्ध मुद्दा दर्ता गरेका हुन् । आफूलाई अध्यक्ष धामीले कुटपिट र गाली बेइज्जती गरेको भन्दै बिरसिंहले मुद्दा दर्ता गरेका हुन्।यही जेठ २ सडक निर्माणको क्रममा दोस्रो किस्ता बाफतको रनिङ बिलमा पालिकाले २० लाख ४४ हजार रकमको चेक उपभोक्ता समितिलाई दिएको थियो ।
तर चेक साट्न जाँदा पालिकाले बैंकलाई पत्राचार गरेर चेक नसाट्न आग्रह गरेको थियो । चेक नसाटिएपछि उपभोक्ता समिति अध्यक्ष बिरसिंह धामी गाउँपालिकाको केन्द्र गर्जे पुग्दा गाउँपालिका अध्यक्षले कुटपिट गरेका थिए। जिल्ला अस्पतालमा उपचार गराइरहेका धामीले गाउँपालिका अध्यक्ष बिरुद्ध सोमबार अदालतमा मुद्दा दर्ता गरेका हुन्। अध्यक्ष धामीले सार्वजनिक पदको दुरुपयोग गर्दै कुटपिट र गाली बेइज्जती गरेको भन्दै उनीमथि कैद र जरीवानाका साथै उपचार खर्च माग गरिएको छ।
गाउँपालिका अध्यक्ष धामीविरुद्ध अदालतमा कुटपिट र गाली बेइज्जती मुद्दा दर्ता भएको जिल्ला अदालत बैतडीका तहसिलदार तीर्थराज आचार्यले बताए। अध्यक्ष धामीको नाममा म्याद जारी भएको र म्याद प्राप्त भएको २१ दिनभित्र अदालतमा हाजिर हुनुपर्ने आचार्यले बताए । यता गाउँपालिका अध्यक्ष धामीले भने उपभोक्ता समितिका अध्यक्ष बीरसिंह धामीले मदिरा सेवन गरेर पालिका कर्मचारी र अध्यक्षसँग दुब्र्यवहार गरेको दाबी गरेका छन् । उनले किर्ते कागजपत्र बनाएर भुक्तानी लिएको थाहा पाएपछि बैंकलाई चेक नसाट्न अनुरोध गरेको बताएका छन् ।