डडेल्धुरा। डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएका लक्ष्मण सिँहको नियुक्ति पत्र १० दिनमै बदर गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २६ गते सिंहलाई तीन वर्षका लागि अध्यक्ष नियुक्त गरेको पत्र दिएको थियो ।
तर त्यसको ९ दिनपछि जेठ ३ गते सिँहको नियुक्ती बदर गर्दै करुणाकर ओझालाई अध्यक्षमा नियुक्त गरेको पत्र दिईएको छ । जेठ ३ गते स्वास्थ्यमन्त्री मोहन बस्नेतले यसअघि नियुक्त भएका सिंहको नियुक्ति बदर गर्दै ओझालाई अध्यक्षमा नियुक्त गरेका हुन्। बस्नेत स्वास्थ्यमन्त्री नियुक्त हुनुभन्दा तिन दिन अघि वैशाख १७ गते बसेको प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले बैशाख २३ गतेबाट लागुहुने गरी सिँहलाई अध्यक्षमा नियुक्त गरेको थियो ।
पत्र पाएपछि अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका सिंहले अध्यक्षको कुर्सीमा १० दिन पनि बस्न पाएनन्। स्वास्थ्यमन्त्री बस्नेतले उनको मनोनयन बदर गर्दै ओझालाई पठाएका छन् ।दुवै जनालाई लेखिएको पत्रको व्यहोरा भने एकै छ । मन्त्रालयकी जनस्वास्थ्य अधिकृत रोजिना ताण्डुकारको हस्ताक्षर रहेको पत्रमा ‘तपाईँलाई अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को उपदफा (२) क बमोजिम डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा ३ वर्ष पदावधि रहने गरी मनोनित गरिएको व्यहोरा जानकारी गराएको छु,’ भन्ने उल्लेख छ । अस्पतालको विकास समिति अध्यक्षका रुपमा ओझाको कार्यकाल केही समय अघि मात्र सकिएको थियो । उनको कार्यकाल सकिएपछि मन्त्रिस्तरको बैठकबाट सिंहलाई नियुक्त गरिएको थियो।