बैतडी। बैतडीमा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउन थालिएको छ ।जिल्लाका दशवटै स्थानीय तहमा ८० हजार संख्यामा बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले पिपिआर रोगबाट बचाउनका लागि बाख्रालाई पिपिआर खोप लगाइएको बताए । जिल्लाका १० ओटै स्थानीय तहमा अभियानको रुपमा पिपिआर विरुद्धको खोप दिइएको उनले बताए । जिल्लाभरी दुई महिना अभियान सञ्चालन गरेर बाख्राहरुलाई पिपिआर खोप लगाइएको हो ।
पिपिआर रोग लागेमा त्यसको औषधि नहुने र त्यो रोगबाट बचाउने एकमात्र उपाय खोप भएकाले पिपिआर विरुद्धको खोप अभियान सञ्चालन गरिएको उनले बताए । उनले बाख्रामा सो रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना भएकाले किसानहरुले पालेका बाख्रामा क्षति नहोस भनेर पिपिआर खोप लगाएको बताए ।बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, र्याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् । गत वर्ष पनि बाख्रालाई पिपिआर खोप दिइएको थियो । जिल्लामा करिब डेढ लाखको हाराहारीमा किसानले बाख्रा पालेका छन् । २०० बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत छन् ।