बैतडी। गौहत्याको आरोपमा पक्राउ परेका बैतडीका एक युवक पाँच हजार धरौटीमा छुटेका छन्। धरौटीमा छुट्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका ३ जड्याखालीका ३६ वर्षीय रमेश भुल रहेका छन् ।
बैतडी जिल्ला अदालतले रमेशलाई पाँचहजार धरौटीमा रिहा गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । रमेश मादक पदार्थ सेवन गरि गत चैत १३ गते राति आफ्नै घरमा पालेका ३ ओटा गाईलाई मारेको आरोपमा पक्राउ परेका थिए।
रातिको समयमा मदिरा सेवन गरेर घरमा आएका भुलले गोठमा रहेका दुई र गोठबाहिर बाँधेको एक गाईलाई काठको चिर्पटले हिर्काएर मारेका बताइएको छ । गाई मारेको घरपरिवारले खबर गरेपछि प्रहरीले रमेशलाई पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले पशुपन्छि सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान सम्पन्न गरेर अदालतलाई बुझाएको थियो ।