कञ्चनपुर। कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल–भारत ७ नम्बर पिल्लर स्तम्भमा टाँगिएको नेपालको राष्ट्रिय झण्डा फेरिएको छ । भीमदत्त नगरपालिका – ११ भुजेलास्थित स्तम्भमा टाँगिएकोे नेपालको राष्ट्रिय झण्डा फेरिएको हो ।
लामो समय सम्म हावाले च्यातिएको नेपालको राष्ट्रिय झण्डा नफेरिएको भन्दै चर्को आलोचना भइरहेको थियो । शनिबार भीमदत्त नगरपालिकाले हावाले च्यातिएको राष्ट्रिय झण्डा फेरेको हो ।अधिकांसले यसबारे भीमदत्त नगरपालिकालगायत सरोकारवाला निकायको आलोचना गरेका थिए। नगरपालिकाले नसके आफूहरुले झण्डा फेर्ने भन्दै उनीहरुले स्वस्फूर्त अभियानसमेत चलाएका थिए।
‘झण्डा च्यातिएको जानकारी आएपछि हिजो नै नगरपालिकासँग समन्वय गएिको थियो, आज च्यातिएको झण्डा फेरिएको छ,’ प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसाद अर्यालले भने, ‘सीमा क्षेत्रमा राष्ट्रिय झण्डा फहराइएको छ।’ भीमदत्त नगरपालिकाले तीन वर्षअघि ७७ फिट अग्लो स्तम्भमा नेपाली राष्ट्रिय झण्डा फहराएको थियो।