धनगढी। एनआईएमबी सुदूरपश्चिम मुख्य मन्त्री कप यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा आजदेखि वैशाख १७ गतेसम्म हुने प्रतियोगितामा सात प्रदेशको टोलीबीच प्रतिस्पर्धा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
धनगढीको फाप्ला मैदानमा घरेलु टिम सुदूरपश्चिम प्रदेश र कर्णालीबीच उद्घाटन खेल सुरु भएको छ । सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । क्यानले शनिबार सार्वजनिक गरेको तालिका अनुसार समूह ए मा सुदूरपश्चिम र कर्णालीसहित मधेश प्रदेश र लुम्बिनी प्रदेश छन् ।
समूह बी मा बागमती, गण्डकी र कोशी प्रदेश छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल १७ गते हुनेछ ।प्रतियोगिताको विजेताले नगद २ लाख प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख पाउनेछन् ।यस्तै प्लेअर अफ द सिरिजले १५ हजार, बेस्ट ब्याटर र बेस्ट बलरले जनही १० हजार तथा हरेक खेलको प्लेअर अफ द म्याचले २ हजार पाउने क्यानले जनाएको छ ।