डडेल्धुरा : डडेल्धुराका नरेश भण्डारी ‘न्याथन रायन’ ‘द पोइट आइडल’को फाइनलमा पुगेका छन् । फाइनल प्रतिस्पर्धा यही वैशाख ८ गते शुक्रबार हुँदैछ । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर २ तल्लो देउल्लीका भण्डारीको परिवार केही वर्षदेखि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बस्दै आएको छ ।
फाइनलमा पुगका भण्डारी आज धनगढी पुगेका छन् । फाइनल शुक्रबार हुने जानकारी दिँदै उनले प्रचारप्रशारका लागि गृहप्रदेश पुगेको जानकारी दिए । उनले ६ गते काठमाडौं पुग्नुपर्ने र समय व्यवस्थापन भए फाइनलअघि गृहजिल्ला डडेल्धुरा पनि आउने बताए ।
नाटकघरमा जस्तो अभिनय अनि मेहफिलमा जस्तो कविताको अनुभव एकैपटक दिन सक्ने क्षमताका धनी रायनको प्रस्तुति धेरैले मन पराएका छन् । पीडा, प्रेम र आशाका कविता कथ्ने न्याथन रायनले सुदूरपश्चिमको मात्र नभई समग्र मुलुकका प्रशंसकबाट प्राप्त मायाबाट प्रेरित हुँदै उपाधि जित्ने सोच बनाएका छन् ।