अछाम। अछाम र बाजुरामा पाँच दिनदेखि बन्द अवस्थामा रहेको यातायात सुचारु गरिएको छ। साँफेबगर नगरपालिका –३ का हेमराज कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि साँफेबगर क्षेत्र भएर जाने छोटो तथा लामोदुरीका सवारी शनिबारबाट चल्न सकेका थिएनन्।
यस्तै अछामबाट बाजुरा जाने सडक पनी अबरुद्ध गरिएको थियो। साँफेबगर भएर कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की, नेपालगञ्ज, कञ्चनपुरको महेन्द्रनगर लगायतका स्थानमा जाने सवारी साधन बन्द भएका थिए। बसको ठक्करबाट मृत्यु भएका कुँवरका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि यातायात सुचारु भएको हो। बजार तथा यातायात बन्द गरेको पाँच दिनपछि पूर्ण रुपमा सुचारु भएको अछाम प्रहरीले बताएको छ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय अछाममा पीडित, सुदुरपश्चिम बस व्यवसायी प्रालिका प्रतिनिधिबिच भएको छलफलमा औषधि उपचारमा लागेको सम्पूर्ण खर्च बेहोर्ने मृतककी श्रीमतीलाई बस काउन्टरमा रोजगारी दिने हेलिकप्टर मार्फत काठमाण्डौ लैजादा लागेको खर्च सुन्दर सुदुरपश्चिम यातायात प्रालिले बेहोर्ने सहमतिपछि यातायात सुचारु भएको हो।
साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको वडा कार्यालय नजिकै चैत १९ गते बसको ठक्करबाट कुँवर घाइते भएका थिए। कुँवरको उपचारका क्रममा काठमाडौंमा चैत २४ गते मृत्यु भएको थियो। सुप्रप ०१–००१ ख ३१५४ नम्बरका बसले हेमराजलाई ठक्कर दिएको थियो। मृतकका श्रीमती र दुई छोरी रहेका छन्।सडक सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय, अछामका प्रशासकीय अधिकृत मिनराज आचार्यले बस व्यवसायी र मृतकका आफन्तबीच छलफलका लागि समन्वय भएको बताए । बस व्यवसायी समितिका प्रतिनिधिलाई अछाम बोलाएर पीडितसँग छलफल भएको थियो।