अछाम। अछाम र बाजुराका यातायात चार दिनदेखि बन्द अवस्थामा रहेका छन् । बसको ठक्करबाट घाइते भई उपचारको क्रममा हेमराज कुँवरको मृत्यु भएपछि अछाम र बाजुरामा सवारी साधन ठप्प भएका हुन्।
साँफेबगर नगरपालिका –३ का कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाडौंमा निधन भएपछि साँफेबगर क्षेत्र भएर जाने छोटो तथा लामो दुरीका सवारी शनिबारबाट चल्न सकेको छैन । अछाम र बाजुराका विभिन्न स्थानबाट साँफेबगर भएर कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की, नेपालगञ्ज, कञ्चनपुरको महेन्द्रनगर लगायतका स्थानमा जाने सवारी साधन बन्द भएका छन् ।
तराईबाट अछाम र बाजुरा आउने लामो दुरीका सवारी साधन पनि चार दिनदेखि बन्द अवस्थामा रहेका छन् । यस्तै, साँफेबगर क्षेत्रमा चल्ने जिप, अटोरिक्सालगायतका साना सवारी पनि ठप्प अवस्था रहेका छन् । दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले सडक र साँफेबगर बजार बन्द गरेका हुन् । आन्दोलनका कारण साँफेबगरको हाटबजार र एयरपोर्ट बजार पनि बन्द अवस्था छ । साँफेबगर पूरै ठप्प अवस्थामा रहेको साँफेबगरका स्थानियले बताएका छन् ।
सडक सञ्चालनका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय, अछामले जानकारी दिएको छ। कार्यालय प्रशासकीय अधिकृत मिनराज आचार्यले बस व्यवसायी र मृतकका आफन्तबीच छलफलका लागि समन्वय भइरहेको जानकारी दिए । बस व्यवसायी समितिका प्रतिनिधिलाई अछाम बोलाएर पीडितसँग छलफलको तयारी भइरहेको बताइएको छ । तर बस व्यवसायी समितिका प्रतिनिधिले भने डोटी प्रशासन कार्यालयमा छलफल हुनुपर्ने मागका कारण केही ढिलाइ भइरहेको भनाइ आचार्यको छ ।
उपचारको क्रममा निधन भएपछि नेपालगञ्जस्थित वेस्टर्न अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मीमा छानबिन गर्न साँफेबगर नगरपालिकाले माग गरेको छ । चैत १९ गते साँफेबगरमा बसले मोटरसाइकललाई ठक्कर दिएपछि थप उपचारका लागि नेपालगञ्ज वेस्टर्न अस्पतालमा चैत २० गते भर्ना गरेर बेलुकी ८ बजेतिर भाँचिएको खुट्टाको शल्यक्रिया गरिएको उल्लेख गरिएको छ । शल्यक्रियापछि नेपालगञ्जस्थित लाइफलाइन अस्पतालमा मिर्गौलाको डाइलासिस गरेको, जीवनरक्षा अस्पतालमा सिटी स्क्यान गरेको र वेस्टर्न अस्पतालमा उपचार गरेको मृतकका आफन्तको उद्धृत गर्दै प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ ।
बिरामीको होस नखुलेपछि वेस्टर्न अस्पतालका डा. पारस पाण्डे, डा. किरण गुरुङ, डा. विनोद थापा र राहुल थापाको सल्लाहमा काठमाडौंको ह्याम्स अस्पताल लैजान सुझाव दिनुभएको थियो । सुझाव चिकित्सकले सुझाव दिएपछि एक छिन अगाडि स्थिर अवस्थामा देखेको बिरामी एयरपोर्ट लैजान निकाल्दा मरेतुल्य भएको र एयर एम्बुलेन्समा काठमाडौंको ह्याम्स अस्पतालमा उपचार नहुँदै मृत्यु घोषणा भएको प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ ।साँफेबगर नगरपालिका–३ का हेमराज कुँवर र सरस्वती कुँवर सवार मोटरसाइकललाई सोही नगरपालिका–७ को रिडिकोटको वडा कार्यालय नजिक बसले ठक्कर दिएको थियो । सोही दुर्घटनामा परेकी सरस्वती पनि उपचारका क्रममा रहेकी छिन् ।