काठमाडौँ। नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि मृत्यु भएको हो ।
यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार मंगलबार ४७६ पीसीआर र १ हजार ९६० एन्टिजेन गरी कुल २ हजार ४३६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन्। पीसीआरतर्फ ७४ र एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण देखिएको हो।
हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ। हाल संस्थागत आइसोलेसनमा २४ जना, आईसीयूमा १३ जना र भेन्टिलेटरमा ५ जना रहेका छन्। यसअघि सोमबार १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ। हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ। १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ।