योगेन्द्र नायक धनगढी : सरकारले कर्मचारीको सरुवा गरेपछि सुदूरपश्चिममा सरकारी सेवाका कर्मचारीहरु सरुवा रोक्ने कसरतमा जुटेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीको सरुवा गरेपछि यतिबेला कर्मचारीहरु मन्त्री, नेता र उच्च तहका पदाधिकारीसमक्ष हारगुहार गरिरहेका छन् ।
यसैबीच प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डाक्टर खगेन्द्र बम पनि सरुवा रोक्ने कसरतमा जुटेको चर्चा सुरु भएको छ । मन्त्रालयले डाक्टर बमको बझाङमा सरुवा गरेपछि उनी सरुवा रोक्ने तयारीमा लागेको स्रोतको दाबी छ । ‘मन्त्रालयले उहाँको सरुवा गरेको पत्र फागुन २८ गते पठाएको छ । उहाँको सरुवा बझाङमा भएको छ ।’, स्रोतले भन्यो, ‘तर, उहाँ सरुवा भएर जाने मनसायमा देखिनुहुन्न । सकेसम्म प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमै बस्ने गरी लविङ सुरु गर्नुभएको छ ।’
यता सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका निमित्त सचिव गणेश सिंहले पनि बमको सरुवा भएको पुष्ठी गरेका छन् । मन्त्रिपरिषद्को निर्णयबाटै बमको बझाङ सरुवा भएको सिंहले बताएका छन् । ‘उहाँको बझाङमा सरुवा भएको हो । तर, रमाना लिनुभएको छैन । रमाना लिन भने बाँकी छ। कुराकानी गर्दै सिंहले भने, ‘उहाँसँगै सरुवा भएकाहरुले रमाना लिईसक्नुभएको छ । उहाँको चाहिँ रमाना लिन बाँकी छ ।’
यस विषयमा हामीले प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डा.खगेन्द्र बमसँग पनि बुझ्ने प्रयास गर्यौं । तर, उनले सरुवा नमान्ने आशयको अभिव्यक्ति दिएका छन् । सरुवा भए पनि प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा चिकित्सकको दरबन्दी खाली भएकै कारण आफू त्यहाँ बसिरहेको डा बमले बताएका छन् । ‘यहाँ चिकित्सकको दरबन्दी खाली नै छ । म चिकित्सालय सुरु हुँदादेखि नै यही छु । अहिले यहाँ बिरामी पनि धेरै छन्, डाक्टरहरु कम छन्, त्यसैले अहिलेका लागि यही बसेको हुँ ।’, उनले भने, ‘अझै हामीलाई ५–७ जना चिकित्सकको खाँचो छ । उल्टै चिकित्सक चाहिएका बेला सरुवा भयो, त्यसैले अहिलेका लागि यही छु, रमाना लिएको छैन ।’तर, केही समयपछि उनको तर्क भने फरक थियो । ‘सरुवा भएको हो तर केही समय अझै बाँकी छ ।’, उनले भने, ‘मन्त्रालयले जाउ भनेपछि जानु नै पर्छ, नजाने भन्ने होइन । तर, त्यसको केही अवधि र पक्रिया हुन्छ । प्रक्रिया पूरा भएपछि र अवधि पुगेपछि जान्छु ।’ तर, उनले दिएको फरक–फरक अभिव्यक्तिले उनी जसरी हुन्छ, सरुवा रोक्ने तयारीमा लागेको स्पष्ट देखिएको छ । डाक्टर बम करिब १० वर्षदेखि धनगढीमै रहेका बिभिन्न स्वास्थ्य क्षत्रेमा कार्यरत छन् । स्रोतले दिएको जानकारी अनुसार उनी धनगढीस्थित केजि अस्पतालका सेयरहोल्डरसमेत हुन् ।
जहाँ पावर त्यहाँ खगेन्द्र
तत्कालिन समयमा धनगढी उपमहानगरपालिकाको स्वास्थ्य साखामा डा. खगेन्द्र बम कार्यरत थिए। उप महानगरपालिकाका मेयर नृप बहादूर वड हुँदा आफु काग्रेंस निकटकै हो भनेर उप महानगरको स्वास्थ्य साखा प्रमुख बनेका थिए । त्यसपछि प्रदेश रोजेका बम सामाजिक बिकास मन्त्रालयमा कार्यरत थिए । तत्कालिन सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीकहाँ आफु एमालेकै बताएर आर्युर्वेदिक चिकित्सालय प्रमुख बनेका बम अहिले प्रदेशको मन्त्रीपरिषदलेनै सरुवा गर्दा समेत चिकित्सालय छोडेका छैनन् । सामाजिक बिकास मन्त्रालयको नेतृत्व माओवादीले पाउने देखिएपछि उनि आफु माओवादी निकटको भन्दै उपल्लो माओवादी नेतृत्वसम्म धाइरहेका छन्। उनले बालुवाटारसम्म आफ्नो सरुवा रोक्न पहल गरिसकेका छन्। शरुवा भएको २१ दिनभित्र रमना बुझेर गइसक्नुपर्ने नियम भएपनि बम हालसम्म आयुर्वेदिक चिकित्सालयकै प्रमुखमा कार्यरत छन् ।
चिकित्सालय प्रमुख भएपछि लाखौँ भ्रस्टाचार गरेको आरोप
डा. खगेन्द्र बम प्रदेश आयुर्वेदिक चिकित्सालय प्रमुख भएपछि लाखौँ रकम हिनामिना गरेको आरोप लागेको छ । अस्पतालमै कार्यरत एक चिकित्सकका अनुसार डा. बमलाई सरुवा भए आर्थिक लाभ लिन समस्या हुने भएकै कारण चिकित्सालय छोड्न नचाहेका हुन् ति चिकित्सकले भने “चिकित्सालयले आफ्ना सेवाहरु बढाउँदै गइरहेको छ, सेवा दिने कुरामा भन्दा डक्टर बमको ध्यान कहाँबाट पैँसा कमाउन सकिन्छ त्यहाँ छ, औषधी खरिद प्रक्रियामा बमले लाखौँ भ्रस्टाचार गरिसकेका छन्, सायद अख्तियारमा समेत उनको नाममा मुद्धा पर्दैछ, झन यहाँकै एक निजि अस्पतालको उहाँ लगानीकर्ता भएका कारण धनगढी बाहिर जान नचाहेको हुन सक्छ ।”