कैलाली। कैलालीको गौरीगंगा नगरपालिकामा भोली मंगलबारदेखि आयोजना हुने जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ को तयारी पुरा भएको छ। ‘खेलौ फूटबल रमेर, खेलकुदको संन्देश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा हुने सुदुरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पुरा भएको आयोजकले आज सोमबार पत्रकार सम्मेल गर्दै जानकारी दिएको हो।
प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नु हुनेछ । उद्घाटन खेलमा आयोजक गौरीगंगा ११ स्पोर्टस क्लब र डोटी जिल्लाको टीम भिड्नेछन । प्रतियोगिता चैत ३० गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बांके, बर्दिया, नवलपरासी जिल्लाका टीमहरुका साथै नेपाल पुलिस र शसस्त्र प्रहरी बलको टीमको सहभागीता रहेको छ।
प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेतालाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ लाई ट्रफी सहित नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्र्धन गर्न, नगर क्षेत्रमा खेलकूदको चहलपहल बढाउन, ब्यवसायीक खेलाडी बनाउन तथा युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जगशक्ती गोल्ड टिएमटि फलामे छड रहेको छ। मुख्य प्रबद्र्धकमा गौरीगंगा नगरपालिका, सुदुरपश्चिम प्रदेश खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद, नेपाल टेलिकम रहेका छन्। प्रतियोगिताको प्रायोजकहरुमा सिराज ईन्टरनेशनल, न्यु प्लानेट ईन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन्।