डडेल्धुरा। कोरोना संक्रमण कालमा गरेको भाकल पूरा गर्न गिल्लेश्वरी मन्दिरमा स्थानीयले भागवत पुराण नवाह महायज्ञ लगाएका छन् । विश्वमा कोरोना संक्रमण फैलिएको बेला नवदुर्गा गाउँपालिका–४ गिल्ला गाउँवासीले गाउँलेको सुरक्षाका लागि गिल्लेश्वरीसँग भाकल गरेका थिए ।
कोरोना संक्रमणको समयमा गिल्ला गाउँमा कसैलाई केही नभएकाले भाकल पूरा गर्न महायज्ञ लगाएको स्थानीयको भनाइ छ । सताएन । ‘अलि पहिल्यै लगाउनुपर्ने थियो, गाउँमा जुठो पर्ने र सुत्केरी भइरहने भएकाले अहिले ग¥यौं,’ यज्ञमा सहभागीले भने । भागवत पुराण नवाह महायज्ञमा आचार्य श्री अवस्थीले प्रवचन दिएका थिए ।
महायज्ञ शुभसाइतमा सुरु सम्पन्न भएको आचार्य श्री अवस्थीले बताएका छन् । नवरात्रिको अवसर पारेर नौ दिन उपास बसेर नवदुर्गा माताको पूजा पाठसँगै गिल्लेश्वरी माताको पूजापछि भक्तजन, दर्शनार्थीलाई टीका, प्रसाद दिएर महायज्ञ सम्पन्न भएको अवस्थीले जानकारी दिए ।सेती नदी किनारमाथि रहेको गिल्ला गाउँको छेउ सेतीको किनारमाथि चट्टानमा गिल्लेश्वरीको मन्दिर रहेको छ । निकै सानो ढुंगाको मन्दिर रहेको गिल्लेश्वरीको महिमा भने अपार रहेको गिल्लावासीको विश्वास छ । गिल्लेश्वरी मन्दिर रहेको स्थानमा अहिलेसम्म महिलालाई जान निषेध छ । गिल्लागाउँमा १ सय बढी घरधुरी रहेका छन् । खासगरी विष्ट थर भएकाको बसाइँ रहेको गिल्लामा केही परिवार धामी र दलित पनि छन् ।
नदी किनार माथिको फाँटमा करिब ५ सय रोपनी जमिन रहेको छ । पर्याप्त सिँचाइ नभए पनि गिल्लागाउँवासी धान, गहुँ, तोरी र साग तरकारीमा आत्मनिर्भर छन् । गाउँमा सबैका गोठमा दुधालु भैंसी छन् । दुधालु भैंसी नहुनेका गोठमा गाई छन् । गिल्ला गाउँवासीको मुख्य आम्दानीको स्रोत घिउ र बाख्रापालन हो । डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्गको कोरालखोलादेखि सात किलोमिटरको दूरीमा रहेको गिल्ला गाउँवासीले गाई, भैंसीको घिउ र खसीबोका बिक्री गरेर घरपरिवार धानिरहेका छन् । पछिल्ला वर्षहरूमा तराईतिर बसाइँ सर्नेको संख्या पनि बढेको छ भने केही स्थानीय रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकसमेत पुगेका छन् ।