धनगढी : सुदूरपश्चिम ११ माथी खेलकुद पत्रकार मञ्च कैलालीले फराकिलो जित निकालेको छ । आज धनगढी रगंशालामा भएको मैत्रीपुर्ण फुटवल प्रतियोगितामा खेलकुद पत्रकार मञ्च कैलालीले आयोजक सुदूरपश्चिम ११ माथी फराकिलो जित निकालेको हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लवका पदाधिकारी तथा सदस्यहरु र खेलकुद पत्रकार मञ्च कैलाली बिच भएको मैत्रीपुर्ण खेलमा सुदुरपश्चिम ११ स्पोर्टस क्लबलाई खेलकुद पत्रकार मञ्चले ७–२ ले हराएको हो ।
खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट शंकर बोहराले ४ गोल गरे । यस्तै मञ्चका महेन्द्र बमले २ र राजेश चौधरीले १ गोल गरेका थिए । सुदूरपश्चिम ११ स्पोर्टस क्लबका तर्फबाट प्रकाश शाही र अनिल कठायतले १/१ गोल फर्काएका थिए । सुदूरपश्चिम ११ स्पोर्टस क्लवबाट अध्यक्ष शुरेस हमाल, महासचिव प्रकाश शाही, चित्र भट्ट लगायतले खेलेका थिए, भने खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट अध्यक्ष प्रदिप पाठक, बरिष्ठ उपाध्यक्ष शंकर बोहरा, उपाध्यक्ष दिनेश बिष्ट, गगन अयडी, सचिव बिराज रोस्यारा, सिताराम ओझा, महेन्द्र बम, सुदिप थापा, जितेन्द्र रावल, टकं कुँवर लगायतले खेलेका थिए ।
मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल खेलको पुर्वसन्ध्यामा आयोजकको कार्यसमिति र खेलकुद पत्रकार मञ्चबिच मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको थियो । शनिबार धनगढी रगंशालामा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको बिजेताका लागी मनाङ मस्याङ्दी क्लब र थ्रीस्टार क्लब भिड्दैछन् । प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।