धनगढी। सुदूरपश्चिम प्रदेशमा ६ महिना अवधीमा चार रेक्टरका १४ पटक भूकम्प गएका छन् । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा ६ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १४ वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ।
कात्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास केन्द्रविन्दु भई भूकम्प गएयता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएका छन्। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार१४ वटाको केन्द्रविन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको बताए। उनले ‘देशभरका अनुपातमा यस क्षेत्रमा धेरै भूकम्प गइरहेको र यसकारणले पनि देशको पश्चिम भाग भूकम्पको उच्च जोखिममा रहेको उनको भनाई छ।
आइतबार राति १०:२७ मिनेट जाँदा बाजुराको स्वामिकार्तिक गाउँपालिका साप्पाटा आसपास केन्द्रविन्दु भई ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ। देशका पश्चिमी भागमा गएका १४ भूकम्पमध्ये सबैभन्दा बढी बाजुरामा पाँचपटक भूकम्प गएको छ। कात्तिक २२ गते डोटी केन्द्रविन्दु भई आएको भूकम्पमा मानवीय क्षतिसमेत भएको थियो । विभिन्न समयमा आएको भूकम्पका कारण घर तथा सार्वजनिक भवनहरू चर्किनुका साथै बस्न अयोग्य भएका छन् । भूकम्प प्रभावितहरू कोही त्रिपालमा छन् भने केही जोखिम मोलेर चर्किएकै घरमा बस्न बाध्य छन् । १४ वटा भूकम्पमध्ये १० सुदूरपश्चिम प्रदेशका विभिन्न मागमा र चार कर्णाली प्रदेशका विभिन्न मागमा रहेका छन्। चार रेक्टर स्केलका एक हजारभन्दा धेरै पराकम गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।