धनगढी। धनगढी उपमहानगरपालीकामा कार्यरत स्वास्थ्यकर्मीहरू धर्नामा उत्रिएका छन्। उनीहरुले आज धनगढी उपमहानगरपालिकाभित्र जम्मा भएर धर्ना दिइरहेका छन्। तलबभत्ता यथाशिघ्र पाउनुपर्ने माग गर्दैै उनीहरूले दबाबमुलक कार्यक्रम सहित धर्नामा उत्रिएका हुन्।
उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् । बिगत ६ महिना देखि सेवासुविधा नपाउदा दैनिक जीवनयापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाई छ । उनीहरुले दवाबमुलक कार्यक्रम अन्तरगत उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरु आज आइतबारदेखि सार्बजनिक बिदाको दिन बाहेक धनगढी उप-महानगरपालिका प्रशासन शाखामा हाजिरी गरि नगरपालिकाको प्रांगणमा जम्मा भइ कालो पट्टि बाँधी धर्ना दिइरहेका छन्।यस्तै माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा संचालन गरिएका कार्यक्रमहरुको प्रतिबेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र बिशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरुमा आन्दोलनरत स्वास्थ्यकर्मीहरु सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रममा उल्लेख गरिएका छन्। उपमहानगरमा कर्मचारी समायोजन हुँदा १६ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी कायम गरिएकोमा ५४ जना स्वास्थ्य सेवाका कर्मचारी पुगेपछि ६ महिनादेखि तलबभत्ता रोकिएको छ।
कर्मचारी समायोजन ऐन,२०७४ अनुसार कायम गरिएको दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन्। उपमहानगरपालिकाले जथाभावी सरुवाको सहमति दिएपछि अहिले स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन समस्या भइरहेको छ । अहिले संघीय सरकारले तलबभत्ताका लागि बजेट नपठाएको बताए। स्वास्थ्य सेवाका कर्मचारीले तलबभत्ता नपाएको भन्दै दुई पटक स्वास्थ्य मन्त्रालयमा गएर कुरा गरे पनि रकम प्राप्त नभएको बताए ।