बाजुरा। बाजुरा जिल्ला अस्पतालमा तीन वर्षपछि आएका डाक्टरको दुई महिनामा सरुवा गरिएको छ। एमडीजीपी डाक्टर प्रेरित देवकोटा आएको दुई महिनामै बाजुराबाट उनलाई अन्यत्र सरुवा गरिएको हो ।
दुई महिनामै एमडीजीपी डाक्टर गएपछि जिल्ला अस्पताल बाजुरामा उपचार सेवा प्रभावित भएको छ।
तेह्रथुमबाट सरुवा भएर उनी पुस १४ गते जिल्ला अस्पताल बाजुरामा हाजिर भएका थिए। तर उनी आएको दुई महिनामै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २५ गते बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो ।
डाक्टर देवकोटा सरुवा भएर गएपछि जिल्ला अस्पताल बाजुरा एमडीजीपी चिकित्सकविहीन बनेको छ। ३ वर्षअघि निक साइमन संस्थाको सहयोगमा डाक्टर दुर्गा महर्जनले सेवा दिँदै आएका थिए।
सेवा अवधि सकिएपछि महर्जनले तीन वर्षअघि बाजुरा छाडेका थिए। डाक्टर देवकोटा बाजुरा आएपछि जिल्ला अस्पतालमा कार्यालय प्रमुख बन्नेबारे विवाद सुरु भएको थियो। डाक्टर देवकोटा आउनु पहिले आठौं तहका मेडिकल अधिकृत्त मिलन जोशी कार्यालय प्रमुख थिए। तर नवौं तहका देवकोटा आएपछि उनी नै कार्यालय प्रमुख भए। त्यसैले जोशीले आफैं कार्यालय प्रमुख बन्न देवकोटाको सरुवा गराएको आरोप छ। एमडीजिपी चिकित्सकको अभावमा बाजुरामा सामान्य खालका अप्रेसनसमेत हुँदैन। जसले गर्दा बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।