बैतडी। बैतडीमा पछिल्लो समय नसर्ने रोगहरुको समस्या विकराल बन्दै गएको छ। स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहहरुले विभिन्न ठाउँमा सञ्चालन गरेका शिविरमा नसर्ने रोगका बिरामीको संख्या बढी आएको बताइएको छ। सर्ने रोग भन्दा नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
पाटन नगरपालिकाले १० ओटै वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र शिविरमा नसर्ने रोगका बिरामीहरु धेरै आएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । उच्च रक्तचाप, दम, मधुमेह, क्यान्सर लगायतका रोगहरुबाट नागरिक समस्यामा रहेका उनले बताए । नसर्ने रोगहरुको उपचार समेत खर्चिलो हुँदा नागरिकलाई समस्या भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
पछिल्लो समयमा क्यान्सर जस्ता जटील खालका नसर्ने रोगहरुको समेत जोखिम बढ्दै गएको छ। खानपीन, रहनसहन लगायतका कारणले नसर्ने रोगहरुको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा। दिपेश श्रेष्ठले जानकारी दिए । सरुवा रोग भन्दा नसर्ने रोगहरु विकराल समस्याको रुपमा देखा पर्दै गएको उनले बताए ।शारीरिक परिश्रम कम हुनु, रेडिमेड खानाको प्रयोग बढ्नु, चिल्लोको अत्यधिक प्रयोग गर्नु लगायतका कारणले नसर्ने रोगहरुको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।