काठमाडौं। नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै अन्त्य भएको छ । उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् । अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन्।
छोटो समयको प्रेमपछि उनीहरु श्रीमान–श्रीमती बनेका थिए । तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् । वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ। बिहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् । तर, छोटो समयमै नेपाल फर्किइन् ।
उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो। यद्यपि, वर्षाले अहिलेसम्म आफ्नो दाम्पत्य जीवनबारे मौनता साँधिरहेकी छन् । वर्षासँग छुट्टिएलगत्तै आशिषले झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका हुन् । उनीहरुको हिजो झापामै विवाह भएको बुझिएको छ। नेपाल फर्किएकी वर्षाले श्रीमानलाई सामाजिक सञ्जालमा अनफलो गरिन्। आशिषले पनि वर्षालाई सामाजिक सञ्जालबाट हटाए। वर्षाले इन्स्टाग्रामबाट विवाहका तस्बिर हटाइन्।
फेसबुकमा भने विवाहका तस्बिर केही समय अघिसम्म थिए। श्रीमानले अर्कै विवाह गरेपछि वर्षाले ती तस्बिर हटाएकी छन्। सामाजिक सञ्जालको फलो र अनफलोलाई हेरेर धेरैले उनीहरुको सम्बन्ध बिग्रिएको लख काटिरहेका थिए।तर वर्षा र आशिष दुवैले आफ्नो सम्बन्धबारे केही बोलेनन्। आशिषले नबोलेरै सकिएको सम्बन्ध जानकारी दिएका छन्। उनका आफन्तले आशिषको दोस्रो विवाहको फोटो सार्वजनिक गरेपछि यो खबर बाहिर आएको हो।