बैतडी। बैतडी डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स एक वर्षदेखि थन्किएको छ। गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेन्स मर्मत सम्भारको अभावमा थन्किएको स्थानीयले बताएका छन्। एकै ठाउँमा लामो समय राखिएका कारण टायरलगायत अन्य पाटपुर्जा बिग्रिसकेका र मर्मत नहूँदा बिरामीले सेवा पाउन नसकेको उनीहरुको भनाई छ ।
सुदुरपश्चिम प्रदेश सरकारले आव २०७५/०७६ को बजेटमा ७ वटा पहाडी जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, अछाम, बाजुरा र डोटीका १६ वटा निर्वाचन क्षेत्रका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो।सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २०७६ कार्तिकमा बैडतीको डिलासैनी गाउँपालिकालाई ३९ लाखको ‘बी ग्रेड’ को अत्याधुनिक एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेको थियो। केही वर्ष एम्बुलेन्स राम्रैसँग चलेपनी पटक पटक बिग्रिने समस्या देखीएपछि थन्किएको छ ।
तर, बिग्रिएपछि गाउँपालिकाले मर्मतमा चासो नदिदा थन्किएको र एम्बुलेन्स अभावमा बिरामी भने सास्ती खेप्न बाध्य भएका एक जना स्थानीयले बताए। एम्बुलेन्स जस्तो संवेदनशील साधन एक वर्षदेखि यसरी थन्किँदा समेत जनप्रतिनिधिहरूले चासो नदिएको भन्दै स्थानीय आक्रोशित छन्। अत्यावश्यक साधनको रुपमा रहेको एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा पालिकाले ध्यान नदिएको उनीहरुको भनाई छ। बिरामीलाई उपचारका लागि अस्पताल लैजान चर्को भाडा तिरेर नीजि सवारीसाधन खोज्नुपर्ने बाध्यता स्थानीयले बताए।
गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले लामो समयसम्म एम्बुलेन्स एकै स्थानमा रहेकाले मर्मत गर्न धेरै खर्च लाग्ने बताए। धनगढीबाट मेकानिक मगाई मर्मत पश्चात सामाजिक विकास मन्त्रालयललाई नै बुझाउने तयारी भइरहेको उनले बताए । उनले पटक पटक बिग्रने र मर्मत गर्नमा नै बढी खर्च लाग्छने गरेको बताए । मर्मत पछि चलाएपनि कहिले धनगढी तथा नेपालगञ्ज जाँदा फेरि बिग्रिहाल्ने भएकाले मर्मत गरेर सामाजिक विकास मन्त्रालयललाई बुझाउने उनले बताए । तराई पहाड चल्नका लागी गाउँकार्यपालिकासँग उपयुक्त किसीमको एम्बुलेन्स नभएकाले नयाँ र सानो एम्बुलेन्स माग गर्ने बताए ।