बाजुरा। मुखमा अक्सिजन पाइप लगाइएको छ । यताउता हेर्छन् । पीडाले छटपटाइरहेका छन्। बोल्न सक्दैनन् । जिल्ला अस्पताल बाजुरामा रहेका बडिमालिका नगरपालिका–९ का ४ वर्षीय गौतम थापाको अवस्था हो यो । उनी दुई दिनदेखि सो अस्पतालमा छन्। चिकित्सकका अनुसार गौतमको उपचार बाजुरामा सम्भव छैन।
मुटुमा समस्या भएका कारण दुई वटा भल्ब फेनुपर्ने चिकित्सकले बताएका छन् । तर, आर्थिक अभावमा थापाका परिवारले उपचार गराउन काठमाडौं समेत लैजान सकेका छैनन्। उनका बुबा हिमाल थापाका अनुसार करिब ६ महिना अगाडि परिवारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ल्याएका थिए। अस्पतालले सात दिन भर्ना गर्यो। ‘अप्रेसन लागि भोलि तोकिएको थियो। तर, अस्पतालले आजै डिस्चार्ज गरिदियो,’ थापाले भने, ‘त्यसबेला उपचार गर्नका लागि पैसा पनि थिएन । बिरामी छोरालाई घरमै ल्याएँ ।’
तर, १५ वर्षभन्दा मुनिका बालबालिकाको मुटुको उपचार केन्द्रले निःशुल्क गर्दै आएको छ। अस्पतालबाट ल्याएको केही महिनामा गौतमलाई समस्या बढ्दै गयो । हाल गौतम बाजुरा जिल्ला अस्पतालमा अक्सिजनको सहारामा छन् । अस्पतालले गौतमको अवस्था जटिल भएको भन्दै अभिभावकबाट मञ्जुरीनामा समेत लिइसकेको छ । अस्पतालका चिकित्सक डा। प्ररित देवकोटाका अनुसार गौतममा जन्मजात मुटुको समस्या छ । ‘पहिला नै गंगालाल अस्पतालमा रोग पत्ता लगाइसकेको रहेछ । गत दशैंपछि अप्रेसन गर्न मिति तोकिदिएको रहेछ,’ देवकोटाले भने, ‘तर, उहाँ जानु भएनछ। अहिले बच्चाको अवस्था एकदमै जटिल छ ।’
‘बच्चा अस्पताल आउँदा शरीर पुरै निलो थियो। दिसा–पिसाब गर्न नसक्ने अवस्थामा थियो। अहिलेसम्म हामीले जसोतसो बचाइरहेका छौ। समयमै बच्चाको अप्रेसन हुन सकेन भने जे पनि हुनसक्छ,’ डा. देवकोटाले भने ।गौतमको उपचार बाजुरामा सम्भव नहुने भन्दै अस्पतालले रेफर समेत गरिसकेको छ। तर, उनका बाबु पैसा जुटाएर मात्रै काठमाडौं जाने भन्दै वडा कार्यालय र आफन्तकोमा धाइरहेका छन् । घरको आर्थिक स्थिती कमजोर भएका कारण पैसा नभएर जिल्ला बाहिर उपचारका लागि लैजान नसकेको थापा बताउँछन्।
‘घरको खेतीपातीले तीन महिना पनि खान पुग्दैन। गाउँमा ज्याला मजदुरी गर्दै आएको छु । घरमा एक छाक टार्न गाह्रो भएको बेला कसरी उपचार गर्ने रकम जुटाउन सक्छु रु’ थापा भन्छन्। हाल उनी वडा कार्यालयबाट विपन्नको सिफारिस बनाएर छोरालाई काठमाडौं लैजाने तयारीमा छन्। ‘वडाको सिफारिस बनाएर छोरालाई काठमाडौं लैजाने तयारीमा छु । छिमेकीले पनि सापटी पत्याउँदैनन् । छोरा अस्पतालको बेड छट्पटाइरहेको छ । म पैसा खोज्न गाउँ–गाउँ चहारिरहेको छु,’ उनले भने ।