काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति पदको उमेदवार बन्न उमेर अपुग हुने भएको छ । पार्टीको शुक्रबार भएको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति पदको उमेदवार बनाउने निर्णय गरेको थियो । तर, उनको उमेर पाँच वर्ष अपुग हुने पार्टी संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए । संसद सचिवालयका अनुसार रञ्जिताको उमेर ४० वर्ष मात्र छ ।
“हामीले संसदीय दलको सचिवालयबाट उमेदवार बनाउने निर्णय गरेको हो । तर, उमेरको हद पुगेन,” उनले भने, “हामी गठबन्धनमा भएकाले गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय गर्छौं ।”उपराष्ट्रपति बन्न ४५ वर्ष अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा ६९ मा सो सम्बन्धी व्यवस्था गरिएको छ । चौधरीका अनुसार उपराष्ट्रपति बन्न रञ्जिताको उमेर करिव पाँच वर्षले अपुग भएको हो । अब नयाँ उमेदवार तय गर्ने हो भन्ने प्रश्नमा उनी पार्टीले गठबन्धनका अन्य दलसँग छलफल गरेर आवश्यक निर्णय गर्ने बताउँछन् ।उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ।