बैतडी। बैतडीका जिवन सिह बुडालको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ। आफन्त र साथिहरु संग पिकनिक मनाउन गएका जिवन फागुन १३ गते चौलानी नदी किनारमा मृत फेला परेका थिए। मृत्य भएको ७ दिन वितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन् । राष्ट्रिय अनुसन्धान विभागका कार्यरत बैतडीको दशरथचन्द नगरपालिका – १० का जिवनका आफन्तले हत्या गरिएको भन्दै शव बुझ्न नमानेका हुन् ।
राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत जिवन विदामा घर आएका बेला पिकनिक मनाउन गएका थिए । उनी दशरथ चन्द नगरपालिका – ६ मा बस्ने भिनाजु नारायण सिह ऐडीको आग्रहमा पिकनिक मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनारामा गएका थिए । उनीसंगै अन्य १२ जना पनि पिकनिकमा सहभागि थिए । फागुन १३ गते बिहान पिकनिक जाने भन्दै बिहान ५ बजे नै घरबाट निष्किएका जिवनका आफन्तले भने साँझ ७ बजे मृत्यु भएको खबर पाएका थिए ।
पिकनिकमा सहभागिका अनुसार भने बुडाल दिउँसो २ बजे देखि नै सम्पर्कमा थिएनन् । पिकनिकमा संगै रहेका मृतकका भिनाजु ऐडीका अनुसार बुडाल दिउँसो खानपिन गरिरहेको बेला पाँच मिनेटमा आउन्छु भनेर हिडेका थिए।‘संगै हामी पिकनिक मनाउन गएका थियौ। सबै नदी किनारामा बसेका थियौ । केहीले खानपीन पनि गर्यौै । जिवन एक छिनमा आउन्छु भनेर माथि तिर गयो । २ बजेको समयमा ५ मिनेटमा आउन्छु भनेर गएको थियो । कपडा खोलेको थियो । करिब १५ मिनेट सम्म पनि फर्केर नआएपछि हामीले खोजी गर्न थाल्यौ’ ऐडीले भने ‘कता गयो भनेर चारैतिर हेरेका थियौ । त्यसपछि खाना खाने ठाउँमा पनि आयौ । त्यहा पनि नभेटिएपछि हामीले सेरामा रहेको प्रहरी चौकीमा साँझ ४ बजे तिर निवेदन दिएका थियौ ।’ उनले प्रहरी सहित खोजि गर्दा पिकनिक गरेको ठाउँभन्दा तल नदी किनारामा शव फेला परेको बताए ।
मृतक जिवनको परिवारमा ८ बर्षकी छोरी, ६ बर्षको छोरा, श्रीमती र आमा रहेका छन् । जिवन बुवाको उनी डेढ बर्षको हुँदा नै हत्या गरिएको थियो । जिवन परिवारका एक्ला छोरा हुन । जिवनको मृत्युपछि परिवार अहिले शोकमा डुबेको छ।मृतककी आमा जानकी बुडालले छोराको हत्या भएको भन्दै दोषिलाई कारवाही नहुँदा सम्म शव नबुझ्ने बताएकी छिन् । उनले छोरालाई हत्या गर्ने उद्देश्यले नै फकाएर पिकनिकमा लगेको बताएकी छिन् ।मृतककी श्रीमती अनिशा कुलुमले फागुन १५ गते उनीसंगै पिकनिकमा गएका १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा अन्तर्गत किटानी जाहेरी दिएकी छिन्।
किटानी जाहेरी पछि अनुसन्धानका लागि जिवन संगै पिकनिक मनाउन गएका १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले अदालतबाट ७ दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको बताएका छन् । जिवनका आफन्त प्रकाश वोहराले घटना भएको दिनका गतिबिधिले पनि हत्या भएको आशंका गर्ने ठाउँ रहेको बताएका छन् । उनले दिउँसो घटना हुँदा पनि जिवनको फोन अरुको नियन्त्रणमा हुनु र फोन गर्दा जिवन हराएको बारेमा जानकारी नदिइनुले शंका बढेको बताए। मृतकका भिनाजु नाता पर्ने बोहराले राष्ट्रिय अनुसन्धान विभाग अन्तरगत बैतडीमा रहेर काम गर्ने क्रममा जिवन संगै विवाद भएका व्यक्तिहरु पनि पिकनिकमा भएको बताए । उनले दोषिलाई कडा कारवाही नगर्दा सम्म आफूहरुले शव नउठाउने बताए ।