बैतडी। बैतडीमा बनभोज गएका युवक मृत्यु प्रकरणमा १२ जनामाथि अनुसन्धान थालिने बताइएको छ। शनिबार बैतडीको दशरथचन्द नगरपालिका–१० का २५ वर्षीय जीवन बुडालसहित १२ जना पिकनिक मनाउन चौलानी नदी किनारमा गएका थिए।
साथीहरुसँगै वनभोज गएका बुडाल शनिबार राति दशरथचन्द नगरपालिका–६ शेरास्थित चौलानी नदीको बगरमा मृत अवस्थामा भेटिएको बैतडीका (डीएसपी) प्रेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार नदीको दुई किनार भएर बग्ने बीचको बगरमा बुडालको शव भेटिएको हो।
बुडालको शव परीक्षणका लागि आइतबार जिल्ला अस्पतालमा राखिएको डीएसपी शाहीले बताए। बुडालसँगै वनभोज खान गएकामध्येका साथी, आफन्त र नातागोता पर्ने १२ जनामाथि अनुसन्धान अघि बढाइएको डीएसपी शाहीले बताए । मृतक बुडाल राष्ट्रिय अनुसन्धान विभागमा सहायक सूचकका रुपमा बझाङमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ। बझाङमा कार्यरत उनी विदामा घर आएका बेला शनिबार साथीहरुसँग वनभोज खान गएका थिए। बुडाल मृत भेटिएको घटनामा शंकास्पद १२ जनामाथि निगरानीमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।