काठमाडौं। सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदनलाई समेत साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।
क्रिकेटर लामिछानेविरुद्ध नाबालिग बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । त्यो मुद्दामा जिल्ला अदालतले सन्दीपले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको निवेदनमा उच्च अदालत, पाटनले २८ पुसमा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तसहित २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
धरौटीमा छुटेपछि क्रिकेट संघले उनको निलम्बन हटाएर राष्ट्रिय टिममा राख्यो। उनले लिग टू अन्तरगत काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक शृंखला खेले । लगतै नेपालले युएईमा अर्को शृंखला खेल्दैछ । यसका लागि सन्दीपले विदेश जाने अनमुति माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
त्यही निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले विदेश भ्रमणको अनुमति दिएन । खतिवडाको इजलासले सन्दीप र सरकारको छुट्टाछुट्टै निवेदनलाई एकसाथ राखेर आइतबार पेश गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पनि सर्वोच्चमा निवेदन दिएको थियो । यो निवदेनको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो । तर शुक्रबार हेर्न नभ्याइनेमा परेको छ ।अब आइतबार सर्वोच्च अदालतले सन्दीपको विदेश जान पाउँ भन्ने निवेदनका साथै धेरौटीमा छाड्ने उच्च अदालतको आदेश सहित थियो कि थिएन भनेर मूल्यांकन गर्ने छ ।