धनगढी। धनगढीमा भोलीदेखी धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धनगढीको प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा १३ गतेसम्म प्रतियोगिता हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।
पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा सञ्चालन हुन लागेको धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ तयारी पुरा भएको हो । सो प्रतियोगिता मुलुककै सबै भन्दा ठुलो धनराशिको भएको दाबी गरिएको छ । राष्ट्रिय खेलाडी सहितको उपस्थितिमा हुने प्रतियोगितामा २० टिम सहभागी छन्। प्रतियोगितामा खुल्ला डबल्स, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरी तीन इभेन्टमा सञ्चालन गरिने छन्। खुल्ला डबल्समा प्रथमलाई १ लाख २१ हजार, द्वितीयलाई ७१ हजार र तृतीयलाई ५१ हजार रकम पुरस्कारसँगै मेडल तथा ट्रफी प्रदान गरिने छ।
४५ प्लस भेट्रान अन्तर्गत प्रथमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तृतीयलाई २१ हजार नगद तथा ५५ प्लस भेट्रान अन्तर्गत प्रथमलाई ३१ हजार, द्वितीयलाई २१ हजार र तृतीयलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक मेम्बर सिंहले बताए। प्रतियोगिताको जम्मा पुरस्कार राशि चार लाख नौ हजार हुने छ । प्रतियोगितामा सहभागी हुने खेलाडी ओपन डबलमा ३ हजार तथा भेट्रानतर्फ दुई हजार प्रवेश शुल्क तोकिएको छ। भोली बिहान ८ बजे देखी प्रतियोगिता सुरु हुने प्रशिक्षक मेघराज कठायतले जानकारी दिए । धर्मपशुपति स्मृति ओपन ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन भने १० बजे एसएसपी गणेश चन्दले गर्ने बताइएको छ।