कञ्चनपुर। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदुरपश्चिमबाट औद्योगिक विकासको सुरुवात भएको बताएका छन् । कञ्चनपुरस्थीत दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन गर्दै मन्त्री भण्डारीले औद्योगिक क्षेत्रको विकास सुदुरपश्चिमबाट सुरुवात गरिएको बताएका हुन्।
उनले औद्योगिक क्षेत्रको विकासविना समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने दावी समेत गरेका छन्। दैजी छेला औद्योगिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यालय स्थापना गरिएको बताउँदै कामले तिब्रता दिने बताए। उनले कैलालीको हरैया बिशेष आर्थिक क्षेत्र र लुम्बिनीको नौवस्ता औद्योगिक क्षेत्र बन्ने बताउँदै औद्योगिक विकास सुदुरपश्चिम बाट सुरु भएर पूर्वसम्म बिस्तार हुने बताए । मन्त्री भण्डारीले दोधारा चाँदनीमा भारतसंग एमओयू गरेर सुख्खा बन्दरगाह तीन वर्षभित्रमा बनिसक्ने ठोकुवा गरे।
उनले दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि रुख कटानको समस्या समाधानका लागी छिट्टै वन मन्त्रालयसंग समन्वय गरेको बताए । औद्योगिक क्षेत्रको जमिन भोगाधिकारका लागि केही दिनमै यो प्रस्ताव क्याबिनेटमा लैजाने उद्योग मन्त्री भण्डारीले बताए। सुक्खा बन्दरगाह र बेदकोट नगरपालिकामा निर्माण हुने छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरीक्षण गरेका थिए। आयोजनास्थलको निरीक्षण गरेसँगै काम अघि बढेको बताइएको छ। भारत सरकारको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि कञ्चनपुरमा भारतीय ‘राइट्स कन्सटेन्सी’ ले फिल्ड सर्वे गरेर विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको छ ।
भारतीय कम्पनीले छ महिनामा डिपिआर तयार गरी बुझाउने भने पनि दुई(तीन महिनाभित्रै आउनेमा आशावादी नेपाली पक्ष छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रधानमन्त्रीस्तरबाटै उक्त आयोजना प्राथमिकतामा परेपछि आयोजनाले गति पाउने बताए।‘तोकिएको समयभन्दा ढिलो गरेर आयोजनाका प्रक्रियागत काम अब रोकिनुहुन्न’, कार्यकारी निर्देशक गजुरेलले भने , ‘हाम्रो समितिलाई भारतीय पक्षले ‘फोकल एजेन्सी’का रुपमा तोकेर सूचना आदानप्रदानको काम गर्दैछ ।’ यसअघि वीरगञ्ज, भैरवा, विराटनगर लगायतका स्थानका सुक्खा बन्दरगाहको डिजाइनसमेत भारतीय ‘राइट्स कन्सटेन्सी’ले नै गरेको थियो ।
त्यसैगरी यातायात विकास समितिका अनुसार दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँच चौकी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाइएको छ । ‘अहिले राय, सुझाव संकलनका लागि एकहप्ते सूचनासमेत जारी भएको छ’, गजुरेलले भने, ‘स्थानीयस्तरबाट प्राप्त राय, सुझावसहित हामी मन्त्रालयमा पेस गर्छौं ।’आयोजनास्थल निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षले बनाउने प्रतिवद्धतापछि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका थिए। उक्त विषय आफ्नो आसन्न भारत भ्रमणका क्रममा उच्च प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो। नौ सय बिघा क्षेत्रफलमा घोषणा गरिएको क्षेत्रमा तीन सय ५५ बिघामा उद्योग विस्तार गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।विसं २०७३ माघको मन्त्रिपरिषद्को बैठकले साविक चार किल्ला संशोधन गरी पूर्वतर्फ मुक्तकमैया बस्ती, धेउडीथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन र दक्षिणतर्फ चाँदनीफाँटा बस्ती कायम गरेको छ। यहाँ पहिलो चरणमा साना, मझौला तथा ठूला गरी एक सय उद्योग स्थापना गरिने र प्रति उद्योग पाँच कट्ठादेखि पाँच बिघा जमिन छुट्याइने लिमिटेडले जनाएको छ। छेला औद्योगिक क्षेत्रको निरीक्षणका क्रममा उद्योगमन्त्रीले सुदूरपश्चिममा उद्योगको अवस्था न्यून रहेको बताए। ‘उद्योगको ‘हब’का रुपमा कञ्चनपुर विकास हुने क्रममा छ’, उनले भने, ‘यस क्षेत्रका कामलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्नेछु ।’डेढ वर्षभन्दाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको छेला औद्योगिक क्षेत्रको निर्माणका लागि पनि चालू आर्थिक वर्षमा सरकारले एक अर्ब बजेट विनियोजन गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले औद्योगिक क्षेत्रमा पर्ने रुख कटानका लागि ‘नम्बरिङ’ को काम भइरहेको बताए ।‘सुरुमा इआइए गर्दा २५ हजार रुख काटनुपर्ने थियो’, उनले भने, ‘फिल्डमा खटिँदै गर्दा करिब ३५ हजारभन्दा बढी रुख कटान गर्नुपर्ने देखिन्छ ।’ उनले दुई समूहमा रुख नम्बरिङको काम भइरहेको बताउँदै एक साताभित्र उक्त काम सकिने जानकारी दिएका छन् ।