धनगढी। कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी रिहा भएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट आज आइतबार बिहान रिहा भएका हुन्।
कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए। प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन्।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन्। सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिए । थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो।