काठमाडौं।आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७।३ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो ।
घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ। नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो ।नेपालको लागि आसिफ शेखले सर्वाधिक ८१ रन बनाए। यस्तै ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए। लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल तेस्रो ओभरमा १ रनमै आउट भएका थिए । तर आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तीमानी १३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । ओडीआईमा नेपालको यो सर्वाधिक साझेदारी हो।
यो जोडीले यही लिग टु को पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले गरेको १३३ रनको साझेदारी तोडेका हुन् । २७औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि साझेदारी तोडिएको थियो । ज्ञानेन्द्रले ७४ बल खेल्दै ५ चौका र ३ छक्कमा मद्दतमा ६५ रन जोडे। आशिफले ९८ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ८१ रन बनाए । आशिफ ३२औं ओभरमा आउट भएका थिए ।त्यसपछि कुशल मल्ल र रोहितले इनिङ्स अघि बढाए । कुशलले शनिबार रोहित भन्दा अघि ब्याटिङ गरेका थिए । क्रिजमा दुवै नयाँ भएपनि सम्हालिएर खेल्दै ९२ रनको साझेदारी गरे ।
नेपाल जित नजिक पुग्दा कुशलले ठूलो सट खेल्न खोज्दा आउट भए । कुशल मल्लले ४९ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ६२ रन जोडे । त्यसपछि पनि नेपालले थप ३ विकेट गुमायो ।कुशल मल्लले लिग टु मा लगातार दोस्रो अर्धशतक बनाएका हुन् । यसअघि शुक्रबार स्कटल्याण्डलाई पारजित गर्दा कुशल मल्लले आक्रामक ८१ रन बनाएका थिए ।रोहितले ४३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १ रनमै आउट भए ।नामिबियाका रुबेन ट्रम्पलमेनले ३, बर्नानर्ड स्कोल्जले २ तथा तांगेनी लुंगामेनी र पिक्की या फ्रान्सले १ विकेट लिए ।त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले जान ग्रीनको अविजित ७५ रन ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको थियो ।ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे । १३८ रनमा ५ विकेट गुमाएको नामिबियाका लागि जान ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
ग्रिनले अन्तिम ११ बलमा रुबेन ट्रम्पलमेसँग अविजित ४४ रनको साझेदारी गरे ।नामिबियाले अन्तिम १० ओभरमा ११५ रन जोडेको थियो ।४९औं ओभरमा सोमपाल कामीले नन पिक्की या फ्रान्सलाई रनआउट गर्दै यो साझेदारी तोडेका थिए । यस्तै नन स्ट्राइकर एन्डमा रहेका फ्रान्स अर्धशतक बनाउनबाट समेच एक रनले चुके ।सातौं नम्बरमा ब्याटिङ गरेका फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए ।त्यसपछि लो हान्ड्रे लौरेन्स र कार्ल विर्केन्स्टोकले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । लौरेन्सले ४१ र कार्लले २० रन बनाए । दुवैलाई सन्दीप लामिछानेले लगातार ओभरमा आउट गरेका थिए ।यस्तै माइकल भान लिगेनले २२ रन बनाए भने कप्तान गेर्हार्ड एरासमस र जान निकोल लोफ्टी एटोनले समान १५ रन जोडे । नेपालका लागि सन्दीपले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए ।अघिल्लो खेलमा ५ विकेट लिएका करणले आज १ विकेट मात्र लिए । त्यसका लागि उनले ९ ओभरमा ७० रन खर्चिए । करण केसीले ९ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिए तर विकेट लिन सकेनन् । नामिबियाका दुई खेलाडी रनआउट भए ।