बझाङ। बझाङका स्थानीय तहका आफ्नो भवन नहुँदा वार्षिक लाखौं रूपैयाँ भाडा तिनुपरेको छ । देश संघीयतामा गएको ८ वर्ष पूरा भइसक्न लागिसकेको भएपनि जिल्लाका अधिकांस स्थानीय तहहरूले विविध समस्याका कारण आफ्नै प्रशासनिक भवन बनाउन नसकेका हुन् ।
बझाङका १२ वटा स्थानीय तहहरुमध्ये ७ वटा पालिकाहरुले मात्रै आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेका छन् । अन्य ५ वटा पालिकाले भने आफ्नो पालिकाको भवन निर्माण गर्न अझै सकेका छैनन् ।वार्षिक रुपमा लाखौं रुपैयाँ भाडा तिर्दै आएका छन् । जिल्लाको सबै भन्दा विकट र भौगोलिक हिसाबले टाढा रहेको साईपाल गाउँपालिकाले वार्षिक रुपमा १० लाख भाडा तिर्दै आएको छ ।
कार्यालय संचालनका लागि स्थानीयको घर भाडामा लिएर काम अघि बढाउनु परेको साईपाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताए । उनले पालिकामा अहिलेसम्म इन्टरनेट सेवा समेत नभएको बताए ।उता केदारस्युँ गाउँपालिकामा समेत भवन अभावका कारण भाडाको घरबाट नै सेवा प्रवाह गर्ने कार्य भइरहेको छ । तत्कालीन समयमा रायल गाविसको भवनमा गाउँपालिकाको कार्यालयले काम कारबाही अघि बढाएको छ। सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले अन्य शाखाहरु देखि वडा कार्यालय र स्टोर संचालन लगायतका कामका लागि घर भाडामा लिएर काम अघि बढाएको बताए ।
वार्षिक रुपमा करिब पालिकाभरीको १० देखि १५ लाख रुपैयाँ भाडामा जाने गरेको छ । पालिकाको भवन निर्माणका लागि आवश्यक प्रकृया अघि बढाई निर्माणको कार्य भइरहेको उनले बताए। पालिकाका वडा कार्यालयहरुको भवन समेत निर्माणको कार्य अन्तिम चरणमा रहेको पनि उनले बताएका छन् । भवन निर्माण भएपछि पालिकालाई ठूलो राहात हुने उनले बताए ।त्यस्तै, जिल्लाको बुंगल नगरपालिकाले समेत वार्षिक रुपमा ८ लाख भन्दा बढी घर भाडा तिर्दै आएको बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीले जानकारी दिए । अहिले नगरपालिकाले भवन निर्माणका लागि हाडकोटमा जग्गा लिएर भवन निर्माणको डेन्डर भइसकेको उनले बताए ।
यता दुर्गाथली गाउँपालिकाले समेत तत्कालीन चौधारी गाविसको भवनबाट सेवा प्रवाह गरी रहेको छ । गाउँपालिकामा प्राप्त भवन अभावका कारण वार्षिक ६ लाख बराबर भाडा तिरेर विभिन्न शाखाहरु संचालन गरी रहेको प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद जोशीले बताए । पालिकाको प्रशासनिक भवनका लागि डिपिआर भएर भवन निर्माणको काम अघि बढिसकेको उनले बताए ।साथै सुर्मा गाउँपालिकाले समेत वार्षिक रुपमा ७ लाख भन्दा बढी भाडा तिरेर सेवा प्रवाह गर्दै आएको छ । तत्कालीन दौलिचौर गाविसको भवनमा प्राप्त ठाउँ नभएका कारण घर भाडा लिएर पालिकाको काम अघि बढाएको पाइएको छ । तर वडा नम्बर १ र २ ले भने आफ्नै भवनबाट कार्य सम्पादन गरिरहेका भएपनि वडा नम्बर ४ र ५ को भवन निर्माणको काम भने अन्तिम चरणमा रहेको छ । वडा नम्बर १ को ब्यवस्थापन गर्न बाँकी रहेको र पालिकाको भवन निर्माणका लागि डिपिआर भएर काम सुरु गरिएको छ।
जिल्लाको थलारा गाउँपालिकाले भने १ महिना अघिदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको पालिकाका इन्जिनियर संगित रोकायाले बताउनुभयो । १ करोड ६८ लाख २७ हजार ३ सय ८२ रूपैयाँको लागतमा २०७९ कार्तिक ५ गते जागृति मुनाल जे भि ले निर्माण कार्य सम्पन्न गरी पालिकालाई हस्तान्त्रण गरेको हो । भुइँतलामा निर्माण भएको यो भवनमा १ वटा हल ९ वटा कोठा, महिला पुरुषका लागी २र२ वटा शौचालय रहेका छन् । पालिकाको कार्य सम्पादनका लागि भवन प्राप्त नभएका कारण तलो थप्नका लागि टेन्डर प्रकृया अघि बढी सकेको इन्जिनियर रोकायाले बताए ।
वार्षिक रुपमा करिब ५ लाख भन्दा बढी घरभाडा तिर्दै आएको थलारा गाउँपालिकाले अब घरभाडा तिर्नु नपर्ने प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले बताए । पालिकामा घर भाडामा पनि लिन समस्या भएको उनले बताए। ब्यक्तिहरुको घर नपाएर थलारा बहुमुखी क्याम्पसका भवनहरु भाडा लिएर पालिकाको कामहरु अघि बढाएको उनको भनाइ छ । अहिले आफ्नै भवनबाट सेवा प्रवाह गरेपछि सेवाग्राहीहरुलाई समेत सहज भएको उहाँको तर्क छ। यता मष्टा गाउँपालिकामा पनि भवन अभावका कारण भूकम्पले चर्किएको भवनबाट सेवा प्रवाह गर्नुपरेको छ । पानी आउदा चुहिने र साँघुरा कोठाहरुबाट सेवा प्रवाह गर्नु परेको पालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए। पुरानो भातेखोला गाविसको भवनबाट सेवा प्रवाह भइरहेको उनको भनाइ छ । पालिका भरीका वडाहरुदेखि आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका भवनहरु जीर्ण अवस्थामा रहेको उनले बताए । पालिकाको भवन निर्माणका लागि जग्गाको जोहो नै नभएको उनले बताए । अहिले बल्ल तल्ल जग्गा दान गर्ने महान ब्यक्ति पाएपछि पालिकाको नाममा जग्गा पास गरेको उनको भनाइ थियो । अस्पातल र पालिकाको भवन निर्माणका लागि डिपिआर भएर बजेटको माग गरिएको उनले बताए ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका, विथ्थडचिर गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिकाले भने आफ्नै भवनहरुबाट सेवा प्रवाह गरी रहेका छन् । तल्कोट गाउँपालिकामा सुविधा सम्पन्न भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । खप्तडछान्ना गाउँपालिकामा भने करिब ५ करोडको लागतमा सुविधा सम्पन्न भवन निर्माण भइ सेवा प्रवाह सुरु भइसकेको पालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले बताए। जिल्लाका २ वटा नगरपालिका मध्ये जयपृथ्वी नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरी रहेको छ । बुंगल नगरपालिकाले भवन निर्माणको कार्य भर्खर अघि बढाएको छ । १० वटा पालिकामध्ये खप्तडछान्ना, थलारा, तलकोट, छविसपाथिभेरा र विथ्थडचिर गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरी रहेको जिल्ला समन्वय समितिका संयोजक नरबहादुर बोहराले बताए । बुंगल नगरपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली गाउँपालिका, साईपाल गाउँपालिका र सुर्मा गाउँपालिका भने भाडाको भरमा संचालनमा रहेका उनको भनाइ थियो ।