बैतडी। चोरी तथा डाँका सम्बन्धी कसूरमा बैतडीका एकसहित ३ जना पक्राउ परेका छन् । ल्यापटप, मोवाइल र नगद चोरी गरेको अभियोगमा बैतडी दोगडाकेदार गाउँपालिका–२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा पक्राउ परेका हुन्।
यस्तै, काठमाडौं माईतीघरस्थित युएममि मोवाइल ग्यालरीका सञ्चालक तेह्रथुम अठराई गाउँपालिका–२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका सञ्चालक कपिलवस्तु बाणगंगा नगरपालिका–१ घर भएका ३४ वर्षीय विनोद पौडेललाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ।काठमाडौं महानगरपालिका–२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको हो।
थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोवाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। यस्तै, लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप विनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो। तीनै जना उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ।