धनगढी। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। हाल सुदूरपश्चिम प्रदेशका प्रमुख रहेका डीआईजी सिंहविरुद्ध फागुन ३ गते शैक्षिक योग्यताको विषयमा प्रश्न उठाएर उजुरी परेको हो।
दर्ता नम्बर सी–०४१७१७ नम्बर रहेको उक्त उजुरीमा हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर समेत सच्याएको’ बताइएको छ।उनको वास्तविक नाम अशोक सिंह बोगटी रहेको उजुरीमा उल्लेख छ। उनले डीआईजी हुन पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गरिएको हो।
डिआईजी सिंहले नेपाली नागरिकताको प्रमाणपत्रमा उमेर घटाएको, वास्तविक थर लुकाएको र नक्कली शैक्षिक योग्ताको प्रमाण पत्र पेश गर्दै जागिर खाएको भन्दै बुधबार अख्तियारमा उजुरी परेको हो। सिंहले पढ्दै नपढी भारतको लखनउबाट नक्कली प्रमाणपत्र ल्याएको आरोप लगाइएको छ। अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको पुष्टि गरे। दर्ता उजुरीउपर नियमानुसार अनुसन्धान अगाडि बढाउने बताएका छन्।