कञ्चनपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुख्खा बन्दरगाह निर्माणको काम तीन वर्षभित्रै सकिने बताएका छन् । सोमबार कैलाली हुँदै कञ्चनपुर पुगेका प्रधानमन्त्री दाहालले दोधारा चाँदनी-१ स्थित सुख्खा बन्दरगाह निर्माण स्थलमा पुगेर निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन्।
सुख्खा बन्दरगाह भारत सरकारले निर्माण गर्ने विषयमा छिट्टै सम्झौता हुने पनि प्रधानमन्त्री दाहालले बताए। उनले सम्झौतामै तीन वर्षभित्रै निर्माण सम्पन्न हुने उल्लेख भएकाले तोकिएकै समयमा काम सम्पन्न हुने बताए ।‘सुख्खा बन्दरगाह बनाउने प्रक्रियाको सुरुवात मैले नै गरेको हो,’ सुख्खा बन्दरगाह निर्माण स्थल अवलोकनका लागि दोधारा चाँदनी पुगेका दाहालले भने, ‘यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’
प्रधानमन्त्री दाहालका अनुसार सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन सकिएको छ । बन्दरगाह निर्माणपछि दोधारा चाँदनी वा सुदूरपश्चिमको मात्रै नभई सिंगो देशकै विकासमा योगदान पुग्ने उनले बताए।यस्तै, त्रिदेशीय साझेदारीको रणनीतिका रुपमा भारत र चीनको विकासबाट लाभ लिन सक्नुपर्ने उनले बताएका थिए । ‘हामी त्यही लाभ लिने उपायको खोजीमा छौं,’ उनले भने । यस क्रममा प्रधानमन्त्रीले महाकाली नदीमा निर्माणाधीन पक्की पुलका बारेमा पनि जानकारी लिएका छन्। पुलको दुवैतर्फ निर्माणाधीन बाँधका विषयमा केही समस्या भएकाले यसको समाधान गर्न तत्काल मन्त्रिपरिषद्बाट निर्णय गरिने प्रतिबद्धता जनाएका छन्।
कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सुरु हुने औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको उद्घाटनका लागि महेन्द्रनगर पुगेका प्रधानमन्त्री दाहालले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाको पनि निरीक्षण गर्ने कार्यक्रम छ । यसअघि आजै धनगढी विमानस्थल पुगेर गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीको निरीक्षण गरेका छन्। त्यसपछि प्रधानमन्त्री कञ्चनपुरकोे महेन्द्रनगर प्रस्थान गरेका थिए । महेन्द्रनगरमा जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन,महोत्सवमा उट्घाटन र आयोजनाहरुको निरीक्षणपछि धनगढी फिर्ता भएर आजै काठमाडौँ फर्किने प्रधानमन्त्रीको तयारी रहेको छ। प्रधानमन्त्री दाहाल कैलाली र कञ्चनपुर आएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।