धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका मन्त्रीहरुले कैलालीस्थित शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय (गेटा) मेडिकल केलेजको निरिक्षण गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड सोमवार पहिलोपटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् । सरकारले आइतबार स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय बनाउने निर्णय गरेसंगै प्रधानमन्त्री दाहाल निरिक्षणमा पुगेका हुन् । दाहालले चाँडै सञ्चालनको प्रक्रियामा जाने बताएसंगै यस क्षेत्रका नागरिकहरु खुशी भएका छन् ।
सरकारले आइतवार मात्रै प्रस्तावित गेटा मेडिकल कलेजलाई शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सञ्चालनको प्रारुपमा अन्योलता हुँदा संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । प्रधानमन्त्री पुस्प कमल दाहाल ‘प्रचण्ड’ ले दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको स्थलगत निरिक्षण गर्दै आफु पहिले देखि नै प्रस्तावित मेडिकल कलेजसंग जोडिएको बताए । दाहालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय देशकै नमुना स्वास्थ्य विश्व विद्यालय बन्ने बताए । उनले यस क्षेत्रमा सवै नागरिकको माग बमोजिम सरकारले निर्णण गरेको बताए ।
अब छिटै यो संञ्चलनामा आउने दाहालले जानकारी दिए । प्रधानमन्त्री दाहलले विकासे योजनाको निरीक्षण पहिले पनि सुदूरपश्चिम बाट गरेको र अहिले पनि आफुले अनुगमन यतै बाट शुरु गरेको बताए । दाहालले भने “यसलाई मेडिकल कलेज चलाउने तिर पनि तिब्र गतिमा अगाडी जान्छ । विश्वविद्यालय स्थापना प्रक्रिया पनि अगाडी बढीसकेको छ, यस क्षेत्रका सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विज्ञलगायत संग छलफल गरेर विश्वविद्यालय बनाउने निर्णय गरेका हौँ ।”
उनले गेटामा मेडिकल कलेज स्थापना गर्ने क्रम देखि नै आफू यससंग प्रत्यक्ष रुपमा जोडिएको बताए । ‘पहिला मेडिकल कलेज स्थापना गर्ने क्रममा पनि म प्रत्यक्ष रुपमा जोडिएको थिए । यसको बेस बन्दा गर्दा पनि मैले यसको अनुगमन गरेको थिए’ उनले भने ‘यसपटक फेरी अनुगमनमा आउँदै गर्दा मेडिकल कलेज चलाउने प्रक्रिया त अब अगाडी बढ्यो नै । यसलाई अगाडी बढाउन स्वास्थ्य संग सम्बन्धित दरबन्दिका काम छिटै पुरा गरिन्छ ।’ उनले आफुले प्रदेश स्तरमा विकास आयोजनाहरुको अनुगमन गर्ने सुदूरपश्चिमबाटै सुरु गरेको बताए । ‘मलाई सुदूरपश्चिममा पहिलो चोटि प्रधानमन्त्री हुँदा पनि केही काम गर्ने र सबभन्दा धेरै पटक सुदूरपश्चिममै आएर अवलोकन पनि गरेको थिए’ उनले भने ‘यसपटक पनि प्रदेश स्तरमा विकास आयोजनाहरुको अनुगमन गर्ने सुदूरपश्चिमबाटै भएको छ ।’
दाहालसंगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत थिए । सरकारको निर्णयलाई यस क्षेत्रका नागरिकहरुले स्वागत गरेका छन् । बिगतबाटै बिश्वबिद्यालय बनाउनुपर्ने माग राख्दै संघर्ष गरिरहेको टिमले अब चाँडै कार्यान्वयनमा आउनुपर्नेमा जोड दिएको छ । साथै सञ्चालन नहुँदासम्म समितिले दवाव दिइरहने संयोजक लोकराज पाण्डेले बताएका छन् ।
करिब ५०÷५२ संरचना निर्माण गर्ने गुरुयोजना अनुसार शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय (गेटा) मेडिकल केलेजमा अधिकाशं संरचना निर्माण पुरा भइसकेका छन्, भने केही निर्माणाधिन छन् । मेडिकल कलेज पुर्वाधार बिकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार अनुसार आगामी २०८० चैतभित्र सम्पुर्ण संरचना तयार हुने छन् ।
अहिले सरकारले बिश्वबिद्यालय बनाउने निर्णय गरेको कुरा आउको छ तर हामीसंग आधिकारीक पत्र आएको छैन उनले भने “अब सरकारले ऐन संसदमा पेष गर्नुपर्ने हुन्छ, सो ऐन प्रतिनिधीसभाले पास गरेपछि मात्रै बिश्वबिद्यालयको कामकाज अगाडी बढ्ने हुन्छ, त्यस कारण यस निर्णयलाई छिटो कार्यान्वयनका लागी सरकारले ऐन बनाई प्रतिनिधीसभामाबाट पारित गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।”