बैतडी। बैतडीमा मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको पाइएको छ। पछिल्लो समयमा मानव–वन्यजन्तुबीचको द्वन्द बढ्दै जाँदा चितुवाले मानव बस्तीमै पसेर मानवीय क्षति गर्न थालेको छ। मानव बस्तीमै पसेर मानवीय क्षति गर्न थालेपछि पासो थापेर चितुवा मार्ने क्रम पनि बढ्दै गएको पाइएको हो।
डिभिजन वन कार्यालयको तथ्यांक अनुसार २०६७ साल यता चितुवाको आक्रमणबाट जिल्लामा २६ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा १३ चितुवा पासोमा परेर मरेका छन्। फेरी बिहीबार मात्रै पाटनमा एक चितुवा मृत फेला परेको थियो । चितुवाको घाँटीमा घाउ भएकाले पासोमा परेर चितुवा मरेको हुन सक्ने अनुमान गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए।
उनले चितुवा पासोमा परेर मरेको हुन सक्ने र त्यसपछि कसैले खोला किनारमा फालेको हुन सक्ने अनुमान गरेको बताए। चितुवाको बासस्थान नष्ट हुँदै गएपछि चितुवा मानवबस्तीमा पस्न थालेको कँडेलले बताए। चितुवा ३१ देखि ४१ वर्गकिलोमिटर क्षेत्रफलमा हिँडडुल, आहार र अन्य क्रियाकलापका लागि यताउता जाने गर्दछ। तर बैतडीमा त्यस्तो किसिमको जंगल नष्ट हुँदै गएकाले चितुवा मानववस्तीमा पस्न थालेको कँडेलले बताए। चितुवाको बासस्थान नष्ट हुँदै गएपछि मानवबस्तीमा पसेको चितुवाले पनि क्षति पुर्याउने गरेको छ । चितुवाले क्षति पुर्याउँदा पासो थापेर मार्ने क्रम बढ्दै गएको छ। अहिले सम्म मरेका अधिकांश चितुवा पासोमै मरेका पाइएको कँडेलले बताए।
पासो थाप्नेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसक्दा पासो थापेर चितुवा मार्ने क्रम बढ्दै गएको हो। अन्नबालीमा क्षति पुर्याउने वन्यजन्तुका लागि थापेको पासोमा परेर पनि चितुवा मारिने क्रम बढ्दै गएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द कम गर्नका लागि स्थानीय सरकारहरुले पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने डिभिजन वन कार्यालयका प्रमुख कँडेलको भनाई छ।